नेपाली फुटबल

हामीले छानेका हेर्नलायक पाँच खेलाडी

काठमाडौं । दुई पटक मिति परिवर्तन भएर सहिद स्मारक ‘ए’ डिभिजन लिग शुक्रबार सुरु हुँदै छ । उपत्यकाका १४ क्लबले प्रतिस्पर्धा गर्ने लिगमा प्रत्येक टोलीले एकअर्कासँग दुई पटक प्रतिस्पर्धा गर्नेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसपालि लिगका खेलहरू दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्स मैदानमा गर्ने योजना बनाएको छ । लिग च्याम्पियन टोली एएफसी कपका लागि छनोट हुनेछ भने पुछारका दुई टोली रेलिगेसनमा पर्नेछन् ।

नेपाली राष्ट्रिय स्तरका खेलाडीको विदेश पलायनक्रम बढ्दै जाँदा यसपालि एन्फाले विदेशी खेलाडीको कोटा बढाएर चारबाट पाँच पुर्याएको छ । तर, मैदानमा भने एक पटकमा चार विदेशी खेलाडीले मात्र खेल्न पाउनेछन् । नेपाली खेलाडी अभावका कारण अधिकांश क्लबले विदेशी खेलाडीलाई प्राथमिकतामा राखेका छन् । क्लबहरूले विदेशी खेलाडीबाट नै निर्णायक भूमिका खोजेका छन् ।

तर, खेलाडी डटकमले शीर्ष डिभिजन लिगमा प्रभाव पार्नसक्ने पाँच नेपाली खेलाडीको सूची तयार पारेको छ । २०७९-८० को लिगमा जसले निर्णायक भूमिका र प्रभाव पार्न सक्छन् ।

नाम: सुनील बल
क्लब: संकटा
पोजिसन: मिडफिल्डिर/विंगर

अघिल्लो सिजन साबिक विजेता मछिन्द्र फुटबल क्लबबाट मैदान उत्रिएका सुनील बल यसपालि संकटासँग अनुबन्धित भएका छन् । संकटामा पुगेसँगै उनले कप्तानी ‘आर्मब्यान्ड’ पाएका छन् ।

पोखरामा भएको आहा-रारा गोल्डकपमा संकटाका लागि ‘डेब्यु’ गर्ने क्रममा उनले टेबहालको टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसपालि संकटाले लिगमा उपाधिको महत्त्वाकांक्षी योजना बुन्दा सबैभन्दा धेरै आस सुनीलबाट गरेको छ ।

राष्ट्रिय टोलीका नियमित सदस्य सुनीलले पनि लिगमा संकटालाई च्याम्पियन बनाउने लक्ष्य लिएका छन् । २०७८ सालको लिगमा मछिन्द्र च्याम्पियन हुँदा उनले उत्कृष्ट प्रदर्शन गर्दै ६ गोल गरेका थिए । पहिलो खेलमै न्युरोड टिम (एनआरटी)विरुद्ध दुई गोल गरेका सुनीलले हिमालयन शेर्पा, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस र रेलिगेसनमा परेको च्यासल युथविरुद्ध १/१ गोल गरेका थिए ।

चोटका कारण उनी पछिल्लो लिगको अन्तिम दुई खेलमा भने मैदान उत्रन असमर्थ भएका थिए । गत वर्षको लिगमा एक पहेँलो कार्ड सामना गरेका सुनीलले ८ सय ८७ मिनेट (इन्जुरी समयबाहेक) मैदान बिताएका थिए ।

नाम: विमल घर्तीमगर
क्लब: मछिन्द्र फुटबल क्लब 
पोजिसन: स्ट्राइकर

राष्ट्रिय टोलीका स्टार स्ट्राइकर विमल घर्तीमगरलाई साबिक विजेता मछिन्द्रले सम्झौता नवीकरण गरेको छ । केही खेलाडीले क्लब छाडे पनि मछिन्द्रलाई विमलले भने सन्तुष्ट बनाउन सफल रह्यो ।

गत सिजन मछिन्द्र च्याम्पियन बन्दा विमलले ४ गोल गरेका थिए । रेलिगेसनमा परेका ब्रिगेड ब्वाइजविरुद्ध दुई तथा च्यासल र हिमालयन शेर्पाविरुद्ध विमलले समान १/१ गोल गरेका थिए । चोटबाट फर्किएपछि विमलले सुरुआती पाँचमध्ये ४ खेलमात्रै खेलेका थिए । त्यो पनि दोस्रो हाफमा बेन्चबाट सुरु गरेका थिए ।

यसपछिका खेलमा भने विमलको प्रदर्शन तारिफयोग्य थियो । चोटमुक्त भएपछि उनले मैदानमा बिताएका प्रत्येक मिनेटले विमल लयमा रहेको पुष्टि गरेको थियो । ६ खेलमा पूरा ९० मिनेटमै मैदान बिताएका विमलले २०७८ सालको लिगमा सात सय ५९ मिनेट (इन्जुरी समयबाहेक) खेलेका थिए ।

नाम: अनन्त तामाङ
क्लब: चर्च ब्वाइज युनाइटेड
पोजिसन: रक्षक

अनन्त तामाङ यसपालि शीर्ष डिभिजनको नवप्रवेशी टोली चर्च ब्वाइज क्लबको जर्सीमा देखिँदै छन् । पछिल्लो दशक राष्ट्रिय टोलीको सेन्ट्रर ब्याकमा खम्बाझै अडिग रहेका अनन्त वर्तमान नेपाली फुटबलका सर्वोत्कृष्ट रक्षकमध्ये एक हुन् ।

रक्षापंक्तिमा जब्बर स्वभावका अनन्तलाई कुनै पनि मूल्यमा नगुमाउने उत्कट चाहनाका कारण लिग सुरु हुने टुंगो नलाग्दै पहिलो पटक शीर्ष डिभिजन लिग खेल्न लागेको चर्च ब्वाइजले महँगो रकममा अनुबन्ध गरेको थियो । अघिल्लो सिजन अनन्त ललितपुरकै पुरानो टोली थ्री स्टार क्लबमा थिए ।

अनन्तले व्यावसायिक करियरको आधा दशक थ्री स्टारमै बिताएका थिए । २०७८ सालको लिगमा अनन्त १३ मध्ये ७ खेलमा थ्री स्टारको जर्सी लगाएर मैदान उत्रिएका थिए । पहिलो खेलमै च्यासल युथविरुद्ध गोल गरेका अनन्तले सुरुआती ६ खेलमा पूरा समय खेलेका थिए । तर दुई पहेँलो कार्डका कारण एक खेल निलम्बनमा बिताएका उनले चोटको समेत अतिरिक्त बाधा झेल्नुपर्दा लिगका बाँकी खेल खेल्न सकेनन् ।

पछिल्ला ४ खेल बाँकी रहँदा उनी चोटबाट पूर्ण मुक्त भए पनि पाटने टोलीको रक्षापंक्ति सम्हाल्न मैदान फर्किएनन् । भारतीय सुपर लिग (आइएसएल) खेल्न इस्ट बंगालबाट प्रस्ताव आएपछि उनले थ्री स्टारसँगको साइनोमा पूर्णविराम लगाउँदै भारतीय बाटो तताएका थिए । गत सिजन अनन्तले ६ सय १६ मिनेट (इन्जुरी समयबाहेक) खेलेका थिए ।

नाम: अञ्जन विष्ट
क्लब: चर्च ब्वाइज युनाइटेड
पोजिसन: स्ट्राइकर/मिडफिल्डर

नेपाली फुटबलमा आजको मितिमा नम्बर एक खेलाडी को ? भन्ने प्रश्न गर्ने हो भने अञ्जन विष्टको नाम लिन फुटबलप्रेमीले एक सेकेन्ड पनि लगाउने छैनन् ।

उनै अञ्जन हाल भारतीय आइ लिगमा केन्क्रे एफसीलाई रेलिगेसनबाट जोगाउने अभियानमा व्यस्त छन् । भारतीय फुटबलको दोस्रो डिभिजन आइ लिगमा हैसियत धरापमा परेपछि केन्क्रेले जोगिनका लागि अञ्जनको सहारा मागेको थियो । जसलाई उनले सहर्ष स्वीकार गरेका थिए । भारत पुगेपछि केन्क्रेले खेलेका आठ खेलमा अञ्जनले सात खेल खेलेका छन् । त्यसमध्ये ६ खेल उनले पहिलो रोजाईबाट खेलेका थिए । 

सात खेल खेलेका अञ्जनले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेका छन् । अञ्जन पुग्नुअघि केन्क्रे १२ खेलमा १०अंकका साथ आइ लिग अंकतालिकाको ११औं स्थानमा थियो । भने हाल टोली २० खेलमा १६ अंकसहित ११औं स्थानमा यथावत छ ।

आइ लिगकै कारण अञ्जनले ‘ए’ डिभिजन लिगका केही खेल गुमाउन सक्छन् । नवप्रवेशी चर्च ब्वाइजसँग ठूलो रकममा अनुबन्धित उनीबाट क्लबले ठूलो आशा राखेको छ ।

अञ्जन आक्रमणमा जुनसुकै भूमिका निर्वाह गर्ने क्षमता राख्छन् । यसअघि अञ्जनले कीर्तिमानी आठौं पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गरेका थिए । अघिल्लो सिजनको लिगमा उनले मनाङबाट १३ मध्ये १२ खेलमा पूरा समय खेले । एक खेल दुई पहेँलो कार्डका कारण गुमाएका थिए । लिगभर ५ गोल गरेका थिए । मनाङले २०७५ सालमा रेलिगेसन विनाको लिग जित्दा अञ्जन टोलीका महत्त्वपूर्ण सदस्य थिए ।  

नाम: मनीष डाँगी
क्लब: संकटा
पोजिसन: मिडफिल्डर/विंगर

‘ए’ डिभिजन लिग २०७९-८० का लागि युवा खेलाडी मनीष डाँगी संकटा क्लबसँग अनुबन्धित भएका छन् । यसपालि संकटाले सुनील बलसहित राष्ट्रिय टोलीका आधा दर्जन खेलाडी भित्र्याएको छ ।

गत सिजन मछिन्द्र च्याम्पियन हुँदा मनीष त्यही टोलीका महत्त्वपूर्ण खेलाडी थिए । तर, समयको हिसाबमा भने उनले क्लबबाट गत सिजन कम मौकामात्र पाएका थिए । मछिन्द्रमा राष्ट्रिय टोलीका चर्चित नामको बाहुल्य हुँदा मनीषले पूरा समय अवसर पाएका थिएनन् ।

चारमा खेलमा मात्रै पहिलो रोजाइबाट मैदान उत्रने मौका पाएका उनले लिगमा कुनै गोल गर्न सकेनन् । तर मछिन्द्रको प्रत्येक जितमा उनको भूमिका महत्त्वपूर्ण रहने गरेको थियो । अचेत भएर मैदानमा लडेपछि उनले अन्तिमका तीन खेलमा खेल्न सकेनन् । यससहित कुल ४ खेलमा उनी मैदान उत्रिएका थिएनन् । मछिन्द्र च्याम्पियन हुँदा पहिलो पटक ‘ए’ डिभिजन लिग खेलेका मनीषले ४ सय ८१ मिनेट (इन्जुरी समयबाहेक) खेलेका थिए ।