काठमाडौं । क्यानाडालाई हराउँदै न्युजिल्याण्ड भारत र श्रीलंकामा भइरहेको ट्वान्टी-२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ । मंगलबार सम्पन्न दिनको पहिलो खेलमा क्यानाडालाई ८ विकेटले पराजित गरि न्युजिल्याण्ड सुपर ८ मा प्रवेश गरेको हो ।
न्युजिल्याण्ड समूह ‘डी’ बाट सुपर आठमा प्रवेश पाउने दोस्रो टोली हो । समूह ‘डी’ बाट दक्षिण अफ्रिकाले यसअघि नै सुपर ८ मा स्थान बनाइसकेको थियो । मंगलबारका नतिजासँगै समूह ‘डी’ बाट अफगानिस्तान, क्यानाडा, युएई भने बाहिरिएका छन् ।
क्यानाडाले दिएको १ सय ७४ रनको लक्ष्य न्युजिल्याण्डले १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा ग्लेन फिलिप्स र रचिन रविन्द्रले अर्धशतकीय इनिङ खेलेका थिए । फिलिप्सले ३६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित रहेर सर्वाधिक ७६ रन बनाए । रविन्द्रले ४९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ५९ रन बनाए ।
फिना एलेन ८ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ तथा टिम साइफर्ट ६ रनमा आउट भए । क्यानाडाका लागि डिलेन हेलिङ्गर र साद विन जाफरले समान १ विकेट लिए ।
त्यसअघि चेन्नईको एमए चिदम्बरम क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको क्यानाडाले युवराज समराको शतकको सहयोगमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो ।
समरा विश्वकपको इतिहासमा शतक बनाउने एसोसिएट राष्ट्रका पहिलो खेलाडी हुन् । यसअघि एसोसिएट देशबाट बनेको सर्वाधिक रन अमेरिकाका आरोन जोन्सको नाममा थियो । जोन्सले गत संस्करणमा क्यानाडाविरुद्ध ९४ रन बनाएका थिए । १९ वर्षीय सामरा ६५ बलमा ११ चौका र ६ छक्का सहित १ सय १० रन बनाउँदै आउट भए ।
यस संस्करणको विश्वकपमा शतक बनाउने समरा दोस्रा खेलाडी हुन् । सोमबार मात्र अस्ट्रेलियाविरुद्धको खेलमा पथुम निशंकाले शतक प्रहार गरेका थिए । ट्वान्टी-२० विश्वकप दशौं संस्करणसम्म आइपुग्दा उनको यो तेह्रौं शतक हो ।
क्यानाडाका लागि कप्तान दिलप्रित बाज्वा ३६ तथा नवनित धालीवाल १० रनमा आउट भए । न्युजिल्याण्डका लागि म्याट हेनरी, ज्याकोब डफी, जिम्मी निशम र कायल जेमीन्सनले समान १ विकेट लिए ।
मंगलबार नै अन्य दुई खेल हुदैछन् । आजको दोस्रो खेलमा समूह ‘बी’ का आयरल्याण्ड र जिम्बाब्वे भिड्दा बेलुकाको खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।
