नेपाली फुटबल

मोफसलका प्रतियोगिता खेलेर लिगको तयारी

काठमाडौं । राजधानीमा आज शुक्रबार सुरु हुने नेपाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि सहभागी १४ क्लब तम्तयार भइसकेका छन् ।

लिग अवधिभर खेलाडीलाई शारीरिक र मनोवैज्ञानिक रूपमा बलियो राखिरहने चुनौती यसपालि पनि क्लबहरूलाई हुनेछ । राउन्ड रोबिन पद्धतिमा दोहोरो लिग तीन महिनासम्म चल्नेछ । जहाँ कुल १ सय ८२ खेल हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरिसकेको छ । हरेक तीन दिनमा एक खेल खेल्नुपर्ने भएकाले खेलाडी घाइते हुने सम्भावना बढ्दो छ ।

मछिन्द्र क्लबलाई यसपालि पनि उपाधिको प्रबल दाबेदारका रूपमा हेरिएको छ । त्यस्तै नवप्रवेशी चर्च ब्वाइज र विभागीय टोली त्रिभुवन आर्मीलाई मछिन्द्रपछिको दाबेदारका रूपमा हेरिएको छ । लिगअघिको मोफसलका प्रतियोगिताहरूलाई आधार मान्ने हो भने मनाङ मस्र्याङ्दी पनि यी तीन क्लबलाई चुनौती दिन तयार देखिन्छ ।

लिग सुरु हुनुभन्दा दुई दिनअघिसम्म मात्र क्लबहरू काठमाडौंमै भएको केपी ओली कप तथा मोफसलका विभिन्न प्रतियोगितामा व्यस्त भए । खेलाडीहरूले आराम गर्ने फुर्सद नै पाएनन् । पोखराको आहा-रारा गोल्डकपबाट सुरु भएको नकआउट प्रतियोगिताको शृंखला केपी ओली कपमा आएर टुंगियो ।

वर्षौंपछि उपत्यकामा नकआउट प्रतियोगिता हुँदा शीर्ष टोलीहरू आर्मी र मछिन्द्रका खेलाडीहरूले त झन् फुटबलबाहेक अरू कुरा एकछिन पनि सोच्न भ्याएनन् । नेपालको शीर्ष राजनीतिक दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आयोजना गरेको प्रथम केपी ओली कप बुधबारमात्र सकिएको थियो । सँगै झापामा भद्रपुर गोल्डकप हुँदै थियो । दुवैमा मछिन्द्रले फाइनल यात्रा ग¥यो । मछिन्द्रले दैनिक एक खेल खेल्नुपर्दा आर्मीले गे्रड ‘ए’ र ग्रेड ‘बी’ गरी दुई टोली उतारेर दुवै प्रतियोगिता भ्याएको थियो ।

काठमाडौंमा लिग सुरु हुनुपूर्व देशका विभिन्न ठाउँमा भएका प्रतियोगिताका नतिजालाई आसन्न लिगको पूर्वानुमानका लागि राम्रो आधार मान्न सकिन्छ । काठमाडौंमा भएको केपी ओली कप र मोफसलका विभिन्न प्रतियोगिताका प्रदर्शनका आधारमा आसन्न लिगमा कुन टोलीको नतिजा कस्तो होला भनेर अनुमान गर्न सहज हुनेछ ।

नकआउट प्रतियोगिताहरूको नतिजाका आधारमा मान्ने हो भने संकटा, मछिन्द्र, मनाङ र आर्मीले एक-एक प्रतियोगितामा उपाधि जितेका छन् । एउटा प्रतियोगिताको उपाधि भने अमेरिकी टोली भुटनिज युथ स्पोर्ट्स क्लबले जितेको थियो । यसैगरी जावलाखेल, हिमालयन शेर्पा र सातदोबाटो युथ क्लबले पनि फाइनलसम्म यात्रा गरेर लिगमा राम्रो प्रदर्शन गर्ने संकेत गरेका छन् ।

आहा-रारा गोल्डकप

संकटा क्लबले आहा-रारा गोल्डकपको २२औं संस्करण सुरु हुनुभन्दा केही दिन अगाडि मात्र राष्ट्रिय टोलीका साथै घरेलु लिगमा प्रभाव जमाइसकेका सुनील बल, मनीष डाँगी, गौतम श्रेष्ठ र आयुश घलानजस्ता खेलाडी अनुबन्ध गरेको थियो ।

यिनै खेलाडीको समेत साथ लिएर संकटा २०७७ पछि दोस्रो पटक आहा-रारा गोल्डकप जित्ने उद्देश्यसाथ पोखरा पुगेको थियो । जुन लक्ष्यमा संकटा पोखरा पुगेको थियो, त्यो उसले पूरा गरेको छ । पुस २३ गते अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी)लाई अतिरिक्त समयमा ३-२ ले पराजित गर्दै संकटाले उपाधि जितेको थियो ।

तीस मिनेटको अतिरिक्त समयमा कप्तान सुनील बलले विजयी गोल गरेका थिए । एक सय १७औं मिनेटमा सुनीलले विदेशी खेलाडी मेसुके ओलोमाउको पासलाई गोलमा परिणत गरेका थिए । सुनील प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि चुनिएका थिए । प्रतियोगितामा आयोजक सहारा, धरान फुटबल क्लब, भुटनिज स्पोर्ट्स र ‘ए’ डिभिजनका सात क्लब गरी १० टोलीको सहभागिता थियो ।

पोखरामा संकटाको उपाधि यात्रामा नायक थिए ओलोमाउ र स्टेफेन बिनोङ । तर यी दुई खेलाडीले घरेलु लिगमा भने संकटाको प्रतिनिधित्व गर्ने छैनन् । ओलोमाउ र बिनोङ दुवैले नवप्रवेशी क्लब खुमलटारबाट खेल्दैछन् ।

वागमती गोल्डकप

आहा-रारा गोल्डकपलगत्तै सुरु भएको वागमती गोल्डकपमा उपाधि अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी)ले जितेको थियो । माघ ३ गते फाइनलमा बिवाइएससीले पोखराको बदला लिँदै संकटा क्लबलाई पेनाल्टी शुटआउटमा ८७ ले पराजित गरेको थियो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय २-२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । वागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा आयोजक वागमती, ‘ए’ डिभिजनका सात क्लब, मकवानपुर-११ र भुटनिज स्पोर्ट्स क्लब गरी १० टोलीको सहभागिता थियो ।

भद्रपुर झापा गोल्डकप

मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ४-३ ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब प्रथम भद्रपुर झापा गोल्डकप च्याम्पियन बन्यो । भद्रपुरस्थित मेची रंगशालामा मंगलबार सम्पन्न फाइनलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट लिइएको थियो । त्यसमा आर्मी सफल भयो ।

प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर, तीन विदेशी क्लब (भारतको जयगाउँ फुटबल क्लब, भुटानको ड्रुक ल्याहुल क्लब, बंगलादेशको काउवार्न बजार प्रगति संघ), ‘ए’ डिभिजनका ६ क्लब गरी १० टिमको सहभागिता रहेको प्रतियोगितामा आर्मीका राजु तामाङ उत्कृष्ट प्रशिक्षक र मछिन्द्रका सुजल श्रेष्ठ उत्कृष्ट खेलाडी भएका थिए ।

राजर्षि जनक कप

सर्लाहीको वागमतीमा भएको सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको थियो । सन्तोष श्रेष्ठ स्मृति मैदानमा फागुन ७ गते भएको फाइनलमा मछिन्द्रले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको थियो । मछिन्द्रको जितमा विमल घर्तीमगर र सुजल श्रेष्ठले गोल गरेका थिए । गोलरक्षक विशाल श्रेष्ठ, फरवार्ड विमल घर्तीमगर र प्रशिक्षक प्रवेश कटुवालले व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट पुरस्कार हासिल गरेका थिए ।

प्रतियोगितामा भुटानको पारो फुटबल क्लब, नव जनजागृति युवा क्लब, धरान फुटबल क्लब, सुदूरपश्चिम ११ र ‘ए’ डिभिजनका ६ क्लब गरी १० टोलीको सहभागिता थियो ।

मकवानपुर गोल्डकप

हेटौंडामा भएको पाँचौं सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकपको उपाधि घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङ मरस्र्याङ्दीले जित्यो । फागुन १० गते भएको फाइनलमा मनाङले हेटौंडा-५ स्थित पिप्लेक्याम्पा रंगशालामा हिमालयन शेर्पालाई १-० ले पराजित गरेको थियो । खेलको एकमात्र गोल रोशन रानामगरले गरेका थिए । मनाङका गोलरक्षक दीप कार्की प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगितामा १२ टिमको सहभागिता थियो ।

केपी ओली कप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा पहिलो पटक भएको प्रतियोगिताको पनि उपाधि छिनोफानो पेनाल्टी सुटआउटबाटै भयो । दशरथ रंगशालामा बुधबार भएको फाइनलमा शीर्ष डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबले बाजी मार्यो ।

फ्लड लाइटमा भएको फाइनलमा मछिन्द्रले ‘ए’ डिभिजन लिगको प्रतिद्धन्द्धी सातदोबाटो युथ क्लबलाई ५-३ को नतिजामा निराश पार्यो । निर्धारित समय १-१ को बराबरीमा टुंगिएपछि सोझै पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको थियो ।

लिग खेल्ने तयारीमा रहेका ‘ए’ डिभिजनका सात तथा आयोजक केपी एफसी गरि आठ टोली सहभागि प्रतियोगिताको सेमिफाइनलमा केपी एफसी र नेपाली सेनाको त्रिभुवन आर्मी एफसी पुगेका थिए । केपी एफसीको नामबाट लिग खेल्ने तयारीमा रहेको पाटने टोली थ्री स्टार क्लबका खेलाडीहरु मैदान उत्रिएका थिए ।

प्रतियोगितामा मछिन्द्रका देवेन्द्र तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।