आइसिसी विश्वकप क्रिकेट लिग टु

नामिबियामाथि स्कटल्यान्डको सानदार जित

काठमाडौं । ओपनर जर्ज मुन्सेको शतकप्रेरित स्कटल्यान्डले बुधबार आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक शृंखलामा नामिबियामाथि १० विकेटको रबाफिलो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको एक सय ५४ रनको लक्ष्य स्टकल्यान्डले २२.१ ओभरमा विना विकेट क्षती पूरा गर्यो ।

स्कटल्यान्डका लागि मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्का मद्दतमा अविजित एक सय ३ तथा अर्का ओपनर काइल कोट्जरले ७२ बलमा ७ चौकामद्दतमा अविजित ४६ रन जोडे । मुन्से र काइलले पहिलो विकेटका लागि एक सय ५७ रनको साझेदारी गरेको थिए ।

शृंखलामा नामिबियाको यो लगातार दोस्रो हार हो । यसअघि मंगलबार सम्पन्न पहिलो खेलमा नामिबियाले नेपाललाई दुई विकेटको नतिजा सुम्पिएको थियो ।

स्कटल्यान्ड ३३ खेलमा ४८ अंकसहित शीर्ष स्थानमा छ भने ओमान ३६ खेलमा ४४ अंकसहित दोस्रो,३२ खेलबाट ३७ अंक बटुलेको नामिबिया तेस्रो र ३६ खेलमा ३५ अंक जोडेको अमेरिका चौथो स्थानमा छ ।
पाँचौ स्थानको युएईको २६ खेलमा २७ अंक छ भने छैटौं स्थानको नेपालको २५ खेलमा २० अंक छ । सातौं स्थानको पपुवा न्युगिनीको २८ खेलमा ५ अंक छ ।
 
यसअघि टस हारेर ब्याटिङका लागि आएको नामिबियाले स्कटल्यान्डसामु एक सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

नामिबियाका ओपनर लो हेन्डर लोहोरेन्सले ८८ बलमा पाँच चौकामद्दतमा ५४ तथा बर्नाड स्कोल्चले समान ३० र जेन ग्रिनले २५ रन जोडे । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन ।

मंगलबार नेपालविरुद्ध शतक पूरा गरेका मिकेल भान लिंगेनले मात्र चार रन जोडे ।

स्कटल्यान्डका लियस्कले ८.२ ओभरमा २४ रन खर्चदै ४ विकेट लिए भने मार्क वाट् र सफियान सासिफले समान तीन विकेट लिए ।