एनभिए भलिबल च्याम्पियनसिप

नेपाली भलिबलमा निर्णायक बन्दै विदेशी खेलाडी

तस्बिर सामाजिक सञ्जाल फेसबुकबाट साभार

काठमाडौं । नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा भएको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आइतबार सम्पन्न भएको छ । पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब च्याम्पियन भए ।

पुरुषतर्फ १४ टोली सहभागी च्याम्पियनसिपको फाइनलमा हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भयो । महिलातर्फ फाइनलमा पुलिसले न्यु डायमन्ड स्पोर्टस् क्लबलाई ३-२ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगिताको सातौ संस्करण सकिँदा विदेशी खेलाडीको आगमन बढ्दै गएको छ । विभागीय टोलीको दवदवा रहने गरेको नेपाली भलिबलमा सहभागी अन्य टोलीले भने विदेशी खेलाडीलाई समावेश गर्दै बलियो चुनौती दिँदै आएका छन् ।

विशेषतः नेपालमा भारत र पाकिस्तानका खेलाडीको उपस्थिती बढ्दै गएको छ । भुगोलमा नजिक र भाषा पनि मिल्ने हुँदा क्लबहरु पाकिस्तान र भारतका खेलाडी भित्र्याउन उत्सुक हुने गरेका छन् । आर्थिक रुपमा पनि अन्य देशबाट भन्दा छिमेकबाट राम्रा खेलाडी ल्याउन सहज छ ।

पछिल्लो समय नेपालमा विदेशी खेलाडी भित्राउनेमा हेल्प नेपाल नम्बर एक बनेको छ । विदेशी खेलाडीकै बलमा हेल्प नेपालले विभागीय टोलीको चुनौती कमजोर साबित गर्दै उपाधिमा धाबा बोल्न थालेको छ ।

सातौं संस्करणसम्म आइपुग्दा टोलीले तीन पटक एनभिए क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । उपाधि जित्दाका तीन वटै संस्करणमा हेल्प नेपालको सफलताको प्रेरक विदेशी खेलाडी नै बन्ने गरेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा उपाधि जित्दा हेल्प नेपालका लागि पाकिस्तानी राष्ट्रिय टोलीका तीन खेलाडीको उपस्थिती सबभन्दा महत्वपूर्ण भएको थियो । टोलीमा पाकिस्तानीसँगै भारतीय सेनामा आवद्ध चार नेपाली खेलाडी पनि थिए ।

भारतीय सेनाका जागिरे भएकाले उनीहरु नेपाली भलिबलको राष्ट्रिय टोली निर्माण प्रक्रियामा उपस्थित हुँदैनन् । तर, घरेलु भलिबलमा ती खेलाडीको उपस्थिति प्रभावकारी रहने गर्छ । आइतबार हेल्प नेपाल च्याम्पियन बन्नुको आधार पनि तिनै पाकिस्तानी र भारतीय सेनामा आवद्ध चार नेपाली खेलाडी थिए । यो मिश्रित टोलीले प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको थियो ।

‘तीन पाकिस्तानी र भारतीय सेनामा आवद्ध चार नेपाली खेलाडी हुँदा हामी बलियो भयौं । सवै पोजिसनमा हाम्रो राम्रो थियो । च्याम्पियन बन्न सफल भयौं,’ प्रशिक्षकका रुपमा हेल्प नेपालबाट पहिलो पटक क्लब च्याम्पियनसिप उपाधि जितेका उत्सव खड्का भन्छन् ।

पाकिस्तानी खेलाडीमा ओपन स्पाइकर मुवासर राजा र उस्मान फरयाद अली तथा सेटर मोहम्मद कासिप नाभिद छन् । यसैगरी भारतीय सेनामा आवद्ध नेपाली खेलाडीमा ओपन स्पाइकर अमृत केसी मिडब्लकर याम क्षेत्री, सुरेन्द्र बल र किस्मतप्रताप शाह तथा लिबेरो दीपक थापा हुन् ।

यसैगरी अन्य घरेलु प्रतियोगितामा खेल्दै आएका सन्जुविक्रम शाह, विष्णु  बस्नेत, सन्तोष महता, सुवास कुँवर हेल्प नेपालको टोलीमा छन् । विष्णु, सन्तोष र सुवास नेपालको यु २३ टोलीका खेलाडी हुन् ।

अघिल्लो सिजन हेल्प नेपालले क्लब च्याम्पियनसिप र लिगमा भारतीय टोलीबाट ओलम्पिक खेलेका विनित कुमार र विनय कुमारलाई समावेश गरेको थियो । यसपटक भने काउन्टर अट्याकमा ध्यान दिँदै आवश्यक्ता अनुसार पाकिस्तानी खेलाडी अनुबन्ध गरेको प्रशिक्षक खड्काको भनाइ छ ।

प्रशिक्षक खड्का विदेशी खेलाडीको उपस्थितीमा लिग झनै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने मान्छन् । उनी विदेशी खेलाडीको उपस्थितीबाट नेपाली खेलाडीले समेत सिक्न पाउने बताउँछन् । ‘विदेशी खेलाडी लिगमा हुँदा नेपाली खेलाडीले पनि सिक्न पाउँछन् । विदेशीकै कारण लिग रोमाञ्चक र प्रतिस्पर्धात्मक हुँदै आएको छ,’ खड्का भन्छन् ।

प्रतियोगिताको महिलातर्फ सहभागी आठ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छैनन् । विभागीय टोलीबीच नै प्रतिस्पर्धा हुँदै आएको छ । पुरुषतर्फ यसपटक दावाली मिलन क्लबले तीन भारतीय खेलाडी अनुबन्ध गरेको थियो । तर, टोलीले सफलता भने हालिस गर्न सकेन । क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेन ।

हेल्प नेपालले पहिलो खेलमा केशवलाल स्मृति भलिबल प्रशिक्षक केन्द्र र दोस्रो खेलमा मधेस प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो । क्वार्टरफाइलनमा सैलुङ बाघढुंगा स्पोर्टस् क्लब रामेछापलाई ३-० को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनायो । सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबको चुनौती ३-२ ले समाप्त पार्दै टोली फाइनल प्रवेश गरेको थियो ।