प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

सुदूरपश्चिमको सहज जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

सुदूरपश्चिमले इटहरीको जनता क्रिकेट पार्कमा सोमबार सम्पन्न दोस्रो गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो  ।

यस जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले दुई खेलमा चार अंक जोड्दा गण्डकीले लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३३ रनले हराउँदा गण्डकी विभागीय टोली एपिएफसँग सात विकेटले पराजित भएको थियो ।

गण्डकीले प्रस्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो ।  सुदूरपश्चिमका लागि  कप्तान विन्दु रावलले ४३ बलमा आठ चौका मद्दतमा अविजित ४६ रन जोडिन् ।  यसैगरी सोभा रोकाय आठ रनका अविजित रहिन् ।

गण्डकीका लागि एक मात्र विकेट निरुता जिटीले हात पारिन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गु्माउँदै ६० रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि सिमान केसीले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि मनिषा चौधरीले चार तथा स्नेहा महरा र इश्वरी विष्टले समान एक विकेट लिए ।

सोमबार नै सम्पन्न पहिलो खेलमा प्रदेश एकले लुम्बिनी प्रदेशलाई नौ रनले  हराउँदै लतागतार दोस्रो जित निकालेको थियो ।