टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता

तेस्रो टाइगर कप माघमा,१० टोलीको सहभागिता रहने

काठमाडौं ।  तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता माघमा हुने भएको छ ।

प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा  माघ ८ देखि १४ गते सम्म सञ्चालन हुने आयोजक टाइगर ग्रुप अफ पोखराले सामेबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

राउण्ड रोविनका आधारमा सञ्चलान हुने  प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान पाँच गरी कुल १० टोली को सहभागिता रहनेछ ।  प्रतियोगितामा महिलातर्फ भारतको र पुरुषतर्फ श्रीलंकाको टोली पनि सहभागि हुनेछन् ।

महिलातर्फ केरला स्टेट इलेक्ट्रोनिक बोर्ड भारत, त्रिभुवन आर्मी क्लव,नेपाल पुलिस क्लव,एपिएफ क्लव र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लबको सहभागिता हुनेछ ।

यसैगरी पुरुषतर्फ एसटी जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका,त्रिभुवन आर्मी क्लव,नेपाल पुलिस क्लव,नेपाल एपिएफ क्लव र गण्डकी प्रदेशकोको सहभागिता रहनेछ ।

यस पटक गत संस्करणको तुलनामा पुरस्कार राशी दोब्बर बनाइएको आयोजकले जनाएको छ ।  महिला तथा पुरुष दुवैतर्फ उपाधी विजेतो समान पाँच लाख  उपविजेताले दुई लाख ५० हजार, तेश्रो हुनेलाई नगद एक लाख २५ हजार र चौथो स्थान हासिल गर्नेले ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिला तथा पुरुष तर्फ उत्कष्ट एक(एक खेलाडीलाई जनही २५ हजार तथा हरेक विधाका उत्कृष्ट खेलाडी तथा उत्कृष्ट प्रशिक्षकले नगद समान जनही १० हजार  रुपौयाँ तथा ट्रफी प्राप्त गर्नेछन् ।

आयोजकले यो प्रतियोगिता आयोजना गर्दा करिब ८० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।  

अघिल्ला दुई संस्करण सस्करण हाम्रो खेलकुद डटकमले प्रत्यक्ष प्रसारण गर्ने गरेको भए पनि यस पटक कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने गरी सम्झौता भएको आयोजकले जनाएको छ ।