भलिबल

भलिबलका दुवै स्वर्ण एपिएफलाई

काठमाडौं । नेपालको राष्ट्रिय खेल भलिबलमा नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत भएका दुवै स्पर्धामा सशस्त्र प्रहरी बल (एपिएफ)ले स्वर्ण पदकमा कब्जा जमाएको छ ।

बिहीबार पोखरा रंगशाला परिसरभित्रको भलिबल कोर्टमा सम्पन्न फाइनलमा एपिएफले विभागीय प्रतिद्धन्द्धी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा निराश पार्यो ।

पहिलो सेट २५-२१ले जितेको एपिएफले दिस्रो सेटमा पनि त्यही लय कायम राख्दै २७-२५ को नतिजा निकाल्यो । अन्तिम सेट एपिएफले २६-२४ ले पक्षमा पारेपछि आर्मीको खेलमा फर्किने सम्भावना समाप्त भयो ।

आर्मीमाथिको जितसँगै एपिएफले स्वर्ण पदकमा कब्जा जमाउँदा पराजित टोली रजतमा खुम्चियो । पुरुष भलिबलमा नेपाल पुलिस क्लबले बिहीबारै बिहान ३-० को सोझो सेटमा घरेलु टोली गण्डकीलाई हराउँदै कांस्य पदक जितेको थियो ।

म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा अघिल्लो दिन बुधबार सम्पन्न महिलाको रोमाञ्चक फाइनलमा नेपाल पुलिसलाई ३-१ को सेटमा पराजित गर्दै एपिएफले महिला भलिबलको उपाधि जितिसकेको थियो ।