भलिबल

महिला भलिबलको स्वर्णका लागि पुलिस र एपिएफ भिड्ने

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबलको स्वर्ण पदकका लािग विभागीय टिमहर– एपिएफ र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा एपिएफले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

एपिएफले बागमतीलाई ३–१ र र पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्यो । पहिलो सेट २५–२३ ले जितेको बागमतीलाई एपिएफले त्यसपछिका तीन सेट क्रमश: २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित गरेको थियो ।

पुलिसले गण्डकीलाई २५–१०, २५–१८ र २५–११ अंकमा पराजित गर्यो । तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी एपीएफ र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ ।

असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए ।