पुरुष भलिबल

पुरुष भलिबलमा पुलिसको विजयी सुरुआत

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबारदेखि सुरु भएको पुरुष भलिबलमा विभागीय टिम पुलिसले विजयी सुरुआत गरेको छ ।

साविक विजेता पुलिसले पोखरा रंगशालास्थित कोर्टमा भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।

पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २५–१२ र तेस्रो सेट २५–११ मा सहज जित निकाल्यो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा पुलिसले जितसँगै ३ अंक जोडेको छ । शुक्रबारको दोस्रो खेल गण्डकी प्रदेश र बागमतीबीच हुने छ ।

पुरुष भलिबलको समूह ‘ए’ मा पुलिस र कर्णालीसहित लुम्बिनी प्रदेश रहेको छ । सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।

प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्ने छन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सीधै क्वाटरफाइनल पुगेका छन् । दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्ने छन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।