बाग्मती प्रदेश न्यू डायमन्ड कप

बाग्मती प्रदेश न्यू डायमन्ड कप: बदलाको लक्ष्यमा एपिएफ

फाइल फोटो

काठमाडौं । बाग्मती प्रदेश न्यू डायमन्ड कप खुला महिला भलिबल प्रयिोगिताको फाइनलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबविरुद्ध कोर्टमा उत्रिँदा नेपाल पुलिस क्लब लिग चरणको पराजयको बदला लिँदै उपाधि उचाल्ने लक्ष्यमा हुनेछ ।

यता, कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार हुने फाइनलमा पुलिस भने एपिएफमाथि पुनः जित निकाल्ने लक्ष्यमा हुनेछ । खेल दिउँसो तीन बजेदेखि सुरु हुनेछ ।

बिहीबार सम्पन्न खेलमा पुलिसले एपिएफमाथि २५-१८, १४-२५, २५-१७, २५-२० को रोमाञ्चक सेटमा हराउँदै फाइनल पुगेको थियो । एक खेलअगावै फाइनलमा पुगेको एपिएफ र पुलिसले बिहीबार शीर्ष स्थान रहनका लागि प्रतिस्पर्धा गरेका थिए ।

यसअघिका खेलमा पुलिसले आयोजक न्यू डायमन्डलाई २५-१६, २५-१५, २५-१५ र दोस्रो खेलमा परोपकारमाथि २५-६, २५-६, २५-११ को सोझो सेटमा सतप्रतिशत नतिजा निकालेको थियो ।

एपिएफले पहिलो खेलमा परोपकारलाई २५-११, २५-४, २५-३ र दोस्रो खेलमा डायमन्डलाई २५-१२, २५-२०, २५-१४ को सोझो सेटमा हराएर सतप्रतिशत नतिजासहित फाइनलमा पुगेको थियो ।

एसियन गेम्सको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका न्यू डायमन्ड उदयीमान सेटर प्रगति नाथ, लिब्रो सलिना श्रेष्ठ र आराममा रहेकी प्रतिभा मालीबिना मैदान उत्रिएको थियो ।

पुलिस स्पाइकरद्धय उषा भण्डारी र कामना विष्ट, शान्तीकला तामाङलगायताका खेलाडी तथा एपिएफ निरुता ठगुन्ना, कविता भट्ट, आरती सुवेदी र चोटका कारण उपचारत खेलाडी सरस्वती चौधरीबिना नै प्रतियोगिता खेलिरहेका छन् ।

शनिबारै हुने तेस्रो स्थानको लागि डायमन्ड र परोपकारबीच दिउँसो एक भिड्दैछन् ।

चार टिमको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोविन पद्दतिमा भएको थियो । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ । यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैंया प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

यस्तै, व्यक्तिगत विधातर्फको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र विधागततर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।