आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

गण्डकीमाथि हेल्प नेपालको रोमाञ्चक जित

काठमाडौं । हेल्प नेपालले मंगलबार गण्डकी प्रदेशलाई ३–२ को सेटमा हराउँदै एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा सतप्रतिशत जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न पुरुषतर्फको दोस्रो खेलमा हेल्प नेपालले गण्डकीलाई १३–२५, २७–२५, २८–२६, १४–२५, १५–१३ को सेटमा पराजित गर्यो ।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको साविक उपविजेता हेल्प नेपाल दुई खेलबाट ५ अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा छ । पुरुषतर्फको खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लब ९ अंकसहित शीर्ष स्थानमा छ ।

यता, गण्डकीको यो दोस्रो हार हो । पहिलो खेलमा आइतबार ढोरपाटनलाई ३–१ को सेटमा हराएको थियो । तीन खेल खेलेको गण्डकीले तीन अंक जोडेको छ ।

अब गण्डकीले पुरुषतर्फको पहिलो खेलमा बुधबार नेपाल पुलिस क्लबको सामना गर्नेछ । खेल दिउँसो १२ बजे हुनेछ । बुधबारको दोस्रो खेलमा हेल्प नेपालले एपिएफसँग दिउँसो एक बजे खेल्नेछ ।

प्रतियोगितामा पुरुषतर्फको आजको अन्तिम खेलमा पुलिस र ढोरपाटन स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।