जिएचसिए

जिएचसिएले ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने

काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए)ले देशभर ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम गर्ने भएको छ ।

पिनाकल कलेजको प्रायोजनमा एकेडेमीले बुधबारदेखि मंगलबारसम्म कार्यक्रम गर्ने बताएको छ । पहिलो चरणमा प्रदेश नम्बर १, मधेश प्रदेश र बागमती प्रदेशका विभिन्न सहर कार्यक्रम गर्ने एकेडेमीले जानकारी दिएको छ ।

यस्तै, बुधबार झापा र विराटनगरमा, बिहीबार राजविराजमा, शुक्रबार लाहान र जनकपुरमा र शनिबार मलंगवामा आयोजन गर्ने तय गरेको छ । आइतबार गौरमा, सोमबार कलैया र विरगंजमा तथा मंगलबार हेटौैडामा कार्यक्रम हुने बताइएको छ ।  

यसैगरी दोस्रो चरणको कार्यक्रम पश्चिम क्षेत्रमा हुनेछ । जेठ २ गतेदेखि सुरु हुने कार्यक्रम धादिङ, नुवाकोट, चितवन, तनहुँ, पोखरा, स्याङ्जा, नवलपुर, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, बर्दिया, धनगढी र महेन्द्रनगरमा हुनेछ ।

एकेडेमीका नवनियुक्त श्रीलंकन प्रशिक्षक मिहिराज वसन्था जयसेकराले प्रशिक्षण दिनुको साथै प्रतिभाको पहिचान गर्ने एकेडेमीले जानकारी दिएको छ । १५ वर्षदेखि यो पेशामा रहेका आईसीसीको लेभल ३ प्रशिक्षक मिहिराजले श्रीलंकन महिला टिमको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।  

ट्यालेन्ट हन्ट कार्यक्रमको दौरान छनोट भएका खेलाडीलाई एकेडेमीले पिनाकल कलेजसंगको सहकार्यमा निःशुल्क शिक्षा, क्रिकेट अभ्यास र होस्टलको सुविधा उपलब्ध गराउने एकेडेमीका निर्देशक सुदीप शर्माले बताए ।