प्रशिक्षक-खेलाडी विवाद

छानबिनको माग गर्दै एनएनआइपिएलाई फुटबल खेलाडी संघको ज्ञापन पत्र

काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको ‘काण्ड’माथि निष्पक्ष छानविनको माग गर्दै अखिल नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)लाई ज्ञापन पत्र बुझाएका छन् ।

अर्को वर्ष चीनमा हुने एसियन कपको तयारीका क्रममा मुख्य प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई बन्द प्रशिक्षण छाड्न भनेको बताउँदै गत बुधबार १० खेलाडी बाहिरिएका थिए । तर, मुख्य प्रशिक्षक अल्मुताइरीले उनीहरू भागेको प्रतिक्रिया दिँदै आएका छन् ।

सोही विषयमा स्पष्ट छानविनको माग गर्दै मंगलबार फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् ।

यसअघि पनि १० खेलाडीहरूले पत्रकार सम्मेलमार्फत आधारभूत आवस्यकता माग गर्दा प्रशिक्षण नै छोड्न्ु परेको र यसमा अखिल नेपाल फुटबल संघ(एन्फा) ले पनि चरम लापरबाही गरेको बताएका थिए ।

खेलाडीहरूले सोमबार पनि युवा तथा खेल्कुद मन्त्री महेश्वर गहतराजलाई पनि भेटेर छानबिनको माग गरेका थिए ।