नारायणप्रसाद स्मृति बास्केटबल भोलिदेखि

काठमाडौं  । क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ९ र महिलामा ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुषमा सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

समूह ‘ए’ मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’ मा केसीएम, सायम (एसएआइएम), जेभियर इन्टरनेसनल र नाथम (एनएटीएचएम) र किस्ट रहेका छन् ।

महिलाको स्पर्धा राउन्ड रोविन लिगका आधारमा हुने छ । राउन्ड रोविनमा शीर्ष २ स्थान हान पर्ने टोली फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगितामा क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायम सहभागी छन् ।

पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्ने छन् । महिलामा पहिलो हुनेले ३० हजार र दोस्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदसहित गिफ्ट ह्याम्परबाट पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने क्वेस्टका एसोसिएट डाइरेक्टर आदर्श जोशीले जानकारी दिए । प्रायोजकमा कोकाकोला, सर्भा ट्राभल्स, ओम शान्ति टेलर्स र सम्पूर्ण प्रेस रहेका छन् ।

वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु ग्वार्कोस्थित आयोजककै कोर्टमा खेलाइने छ । स्व. नारायणप्रसाद श्रेष्ठ क्वेस्टका संस्थापक निर्देशक थिए ।