आरबिबी–एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिप

एनभिए च्याम्पियनसिप: एपिएफ विजयी

काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सोमबार एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको छैटौं संस्करणमा पहिलो जित निकालेको छ । नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा एपिएफले गल्कोट स्पोर्ट्स क्लबलाई २५-१५, २१-२५, २५-१८, २५-२१ को सेटमा पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा गल्कोटको यो लगातार दोस्रो हार हो । एपिएफको पहिलो जित हो । आइतबार एपिएफ त्रिभुवन आर्मी क्लबसँग र गल्कोट नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएका थिए ।

योसँगै एपिएफले तीन अंक जोडेको छ । ६ अंक बनाएको आर्मी सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ । प्रतियोगिताको तेस्रो दिन मंगलबार महिलातर्फको पहिलो खेलमा न्यु डायमन्ड र एभरेस्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान आठ बजे सुरु हुनेछ । दोस्रो खेलमा एपिएफ र आर्मी खेल्नेछन् । खेल बिहान १० बजे हुनेछ ।

यस्तै, दिउँसो १२ बजेदेखि सुरु हुने पुरुषतर्फको पहिलो खेल आर्मी र गल्कोट भिड्नेछन् । दोस्रो खेलमा हेल्प नेपाल र गण्डकी प्रदेश तथा तेस्रो खेलमा नेपाल पुलिस क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल क्रमश: १ बजे र चार बजे हुनेछ ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ सात टिम सहभागी छन् । प्रतियोगिताको महिला र पुरुषतर्फको विजेताले समान ६ लाख, उपविजेताले तीन  लाख, तेस्रो एक लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन्  ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५ हजार प्राप्त गर्नेछन् । यस्तै, व्यक्तिगत विधातर्फको उत्कृष्ट  सेटर, ब्लकर सर्भर, स्पाइकर, लिब्रो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्नेछन् ।