सहिद स्मारक सी डिभिजन लिग

सी डिभिजन लिग: चौथो चरण सकिँदा झापा र आरसी ३२ को सतप्रतिशत नतिजा

काठमाडौं । सहिद स्मारक सी डिभिजन लिगको चौथो चरण सकिँदा दुई टिमले सतप्रतिशत नतिजा कायम राखेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वैशाख ९ गतेदेखि सुरु भएको लिगका सुरुआती चार खेलमा जित निकालेको झापा शीर्ष स्थानमा छ । यस्तै, समान खेलमा समान नतिजा निकालेको आरसी ३२ दोस्रो स्थानमा रहँदा प्लानिङ ब्वाइज युनाइटेड ८ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै, ७ अंक जोडेका सानेपा, मनोहरा युनाइटेड र महावीर क्लब क्रमश: चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

६/६ अंक जोडेका रानीबारी स्पोर्ट्स र समाज कल्याण खेलकुद केन्द्र सातौं र आठौं स्थानमा छन् । चार खेलमा पाँच अंक जोडेको खालीबारी युथ क्लब नवौं तथा चार खेलमा चार अंक जोडेको स्पोर्ट्स एकेडेमी साँगा १०औं स्थानमा छ ।

पुल्चोक तीन अंकसहित ११औं तथा २ अंक जोडेको स्वयम्भु क्लब १२औं स्थानमा छ । क्रमश: १३औं र १४औं स्थानका ओसिस र विरगञ्ज युथ एकेडेमीले अंक जोड्न सकेका छैनन् ।

सोमबार भएको पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लबले रानीबारी युथ क्लबलाई १–० को नतिजामा पराजित गर्दा दोस्रो खेलमा आरसी ३२ ले समाज कल्याण खेलकुद केन्द्रलाई १–० गोलको नतिजामा पराजित गरेको थियो ।

सिजनको समाप्तिपछि शीर्ष दुई टोली बी डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टिम सी डिभिजन लिग छनोटमा झर्नेछन् ।