एन्फा

मुख्य प्रशिक्षक र खेलाडीबीचको विवाद मिलाउन मन्त्री गहतराजको चासो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र उनीसँग असन्तुष्टी राख्दै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीबीचको विवाद समाधानका लागि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले चासो देखाएका छन् ।

मन्त्री गतहराजले सोमबार बन्द प्रशिक्षणबाट बाहिरिएका १० खेलाडीलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । यद्धपी सो छलफलमा मन्त्री गतहराजले खेलाडीहरुको धारण सुन्दै छिट्टै विवाद मिलाउने आश्वास दिएको एक खेलाडीले बताए ।

'हामीले आज दिउँस मात्रै अखिल नेपाल फुटबल संघ(एन्फा) लाई पत्र बुझाउँदै आफूहरुमाथि जानकारीविना बन्द प्रशिक्षण छोडेको भन्दै मुख्य प्रशिक्षक अल्मुताइरीले लगाएको अरोप झुटो भएको र यस विषयमा छिटो भन्दा छिटो छानबिन गर्दै दाषीलाई कारबाही गर्न माग गरेका थियौ,' ती खेलाडीले भने, ‘बेलुका मन्त्री गहतराजले नै फोन गरेर मन्त्रालय बोलाउनु भएको हो । हामीले आफ्नो धारण राखेका छौ । उहाँले छिट्टै विवाद समाधान हुने आश्वासन दिनु भएको छ ।’

‘हामीले जायज माग राख्दा हामीलाई बन्द प्रशिक्षण छोडेर जान भनियो । अहिले हामीलाई त्यहाँबाट भागेको आरोप लगाइएको छ’, उनले भने, ‘हामीले यस विषयमा छानबिन गर्दै छिटो भन्दा छिटो समाधान गर्नका लागि पटक पटक एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई भेट्ने प्रयास गरे पनि उहाँले यस विषयलाई हल्का रुपमा लिनु भएको जस्तो लागेको छ । त्यसैले यो विवाद सहजै समाधान होला भन्नेमा दुबिधा बढेको छ ।’

आइतबार मात्र अल्मुताइरीले खेलाडीले आफूमाथि लगाएको आरोपले दुखी बनाए पनि उनीहरुलाई माफी दिएको र कारबाही नगर्न एन्फा समक्ष आग्रह गरेका थिए । 

अल्मुताइरीले यी १० खेलाडीले जानकारी नै नगराई बन्द प्रशिक्षण छोडेकाले एसियन कप छनोटको लागि प्रशिक्षणमा भने समावेश गर्न नसक्ने बताएका थिए ।