इङलिस प्रिमियर लिग

ब्रेन्टफोर्डमाथि युनाइटेडको सहज जित

लन्डन । म्यानचेस्ट युनाइटेडले सोमबार इङलिस प्रिमियर लिगमा ब्रेन्टफोर्डमाथि ३-० को सहज जित निकालेको छ ।

युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिकका लागि घरेलु मैदान ओल्ड ट्राफोर्डमा यस सिजनको यो अन्तिम खेल थियो । यस सिजनकोे अन्त्यसँगै इरिक टेन हगले युनाइटेडको प्रशिक्षण सम्हाल्नेछन् । 

नवौं मिनेटमा ब्रुनो फर्नान्डेजले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । फर्नान्डेजले युनाइटेडका लागि गरेको यो ५०औं गोल हो ।

४५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । तर भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड भएको भन्दै सो गोलले मान्यता पाएन । 

६१औं मिनेटमा रोनाल्डोले पेनाल्टीको सदुपयोग गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए । ७२ भिनेटमा राफेल भरानले युनाइटेडको अग्रता ३-० मा पुर्याएका थिए । 

३६ खेलमा युनाइटेडको ५८ अंक रहेको छ । जुन पाँचौ स्थानको टोटनहम भन्दा तीन र चौथो स्थानको आर्सनल भन्दा पाँच अंक कम हो । युनाइटेडले टोटनहम र आर्सनल भन्दा दुई खेल बढी खेलेको छ । 

युनाइटेडले शनिबार प्रिमियर लिगमा ब्राइटोनको भ्रमण गर्नेछ । ब्रेन्टफोर्डले भने सोही दिन साउथहमटनको सामना गर्नेछ ।