च्याम्पियन्स लिग

भियारियालविरुद्ध दोस्रो लेगमा पनि स्वभाविक प्रदर्शनलाई निरन्तरता दिन्छौः एलेक्जेन्डर–अर्नोल्ड

लन्डन । लिभरपुलका रक्षक ट्रेन्ट एलेक्जेन्डर-अर्नोल्डले भियारियालविरुद्ध च्याम्पियन्स लिगको पहिलो लेगमा २-० को अग्रता लिए पनि आफ्नो टोली धेरै आत्मविश्वासी बन्न नहुने बताएका छन् ।

गत साता घरेलु मैदान एन्फिल्डमा सम्पन्न पहिलो लेगमा सहज जितसहित फाइनल सम्भावना बलियो पारेको लिभरपुलले मंगलबार सेमिफाइनल दोस्रो लेगका लागि भियारियालको भ्रमण गर्नेछ ।

एकै सिजन चार उपाधिको कीर्तिमान रच्ने लक्ष्यमा रहेको लिभरपुलले फाइनलमा म्यानचेस्टर सिटी र रियाल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

लिभरपुलले तीन वर्ष अघि सेमिफाइनल पहिलो लेगमा बार्सिलोनासँग ३-० ले पराजित भए पनि दोस्रो लेगमा ४-० को जितसहित पुनरागमनमा फाइनलको टिकट काटेको थियो ।

लिभरपुल पछिल्लो १२ खेलमा अपराजित रहँदै आएको छ । एलेक्जेन्ड-अर्नोल्डले स्पेन भ्रमणमा पनि आफ्नो टोलीले स्वभाविक प्रदर्शनका साथ जितकै लागि खेल्ने बताए । उनले भियारियालले सेमिफाइनल सम्मको यात्रा तय गर्ने क्रममा युभेन्टस र बायर्न म्युनिखलाई हराएकाले उनीहरुहलाई सहज प्रतिद्धन्द्धीका रुपमा लिन नुहने बताए ।

‘फुटबल हो, जे पनि हुनसक्छ । भियारियाल उत्कृष्ट टोली हो र उनीहरु जुनसुकै टोलीलाई पनि हराउने क्षमता राख्छन्’,उनले भने, ‘उनीहरुले यसअघि युभेन्टस र बायर्नलाई हराइसकेका छन् । त्यसैले भियारियालविरुद्ध सतर्क भएर खेल्न आवश्यक छ । २-० को अग्रतामा आत्मविश्वासी बन्दा टोलीका लागि त्यो घातक बन्न सक्छ ।’