सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल

राष्ट्रिय महिला बिच भलिबलः पुलिसविरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा लुम्बिनी

पाल्पा । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि शनिबार विभागीय टोली नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ ।

पाल्पाको तानसेनस्थित रानीमहलमा जारी प्रतियोगितामा पूर्व राष्ट्रिय महिला भलिबल टिमकी सदस्य कमला पुनको कप्तानी र हाल राष्ट्रिय टिमकी महत्वपूर्ण सदस्य मनिसा चौधरीको जोडी फेरी एकपटक लुम्बिनीलाई हराउँदै उपाधि जित्न चाहन्छ ।

प्रतियोगितामा सतप्रतिशत जितसहित फाइनलमा पुगेको पुलिसले समूह चरणमा लुम्बिनीलाई २१–९, २१–११ को सोझो सेटमा हराएको थियो । पुलिसले क्वार्टरफाइनलमा प्रदेश एकलाई २१–१, २१–६ र सेमिफाइनलमा गण्डकीलाई २१–१९, २१–९ को सोझो सेटमा पराजित गरेको थियो ।

लुम्बिनी भने पुलिससँग समूह चरणमा व्यहोरेको हारको बदला लिँदै उपाधि जित्ने लक्ष्यमा छ ।लुम्बिनीको टोलीमा भावना डाँगी र सरस्वती कट्टेल छन् । घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै आएकी भावनाको कप्तानीमा रहेको लुम्बिनीमा उनले राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षणमा परेकी सरस्वतीको साथ पाएकी छिन् ।

सरस्वती बंगलादेशमा तीन वर्षअघि भएको एभिसी सेन्ट्रल जोनमा र १३औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रहिक्षणमा परेकी थिइन् । तर, उनी पहिलो चरणको छनोटबाटै बाहिरिएकी थिइन् ।

लुम्बिनीले क्वार्टरफाइनलमा राष्ट्रिय टोलीकी पूर्व सदस्य रेश्मा भण्डारी र निरुता थगुन्नाको जोडी सशस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि २१–१७, २१–१३ को सोझो सेटमा सहज जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

लुम्बिनीले सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई २१–१७, २१–१४ को सेटमा हराउँदै उपाधि संघारमा पुगेको हो । प्रतियोगिताको फाइनलमा खेल दिउँसो ११ बजे हुनेछ । 

तेस्रो स्थानको लागि पवित्रा विसी र रेविना घर्ती मगरको जोडी गण्डकी प्रदेश र भागरथी जोशी र बविता बोहराको जोडी सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ ।  तेस्रो स्थानका लागि हुने खेल बिहान १० बजे हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैंया प्राप्त गर्नेछन् ।