इङ्लिस प्रिमियर लिग

सम्झौता नविकरणको विषयले मेरो स्वाभाविक प्रदर्शन असर गर्दैनः सलाह

लन्डन । मोहम्मद सलाहले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलसँगको सम्झौता  नविकरण नभए पनि त्यसले आफ्नो स्वभाविक खेलमा कुनै असर नगरेको बताएका छन् ।

उपाधिका लागि महत्वपूर्ण रुपमा लिइएको खेलमा आइतबार  लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीको सामना गर्दैछ । शीर्ष स्थानको सिटीको ७३ अंक छ भने लिभरपुल मात्र एक अंकले पछि छ । 

यस सिजनको अन्त्यसँगै सलाह र लिभरपुलबीचको सम्झौता सकिदैछ । दुई पक्षबीच सम्झौता थप गर्ने विषयमा छलफल भए पनि सहमती भने भैसकेको छैन ।

यस सिजन उनले सबै खाले प्रतियोगिता गरि लिभरपुलबाट २८ गोल गरिसकेका छन् । 

‘मैले मेरो सम्झौता नविकरणको विषयमा सार्वजनिक रुपमा कही कतै बोलेको छैन’, सलाहले भने, ‘क्लब र मेरोबीचमा छलफल जारी छ । मैले आफ्नो माग राखिसकेको छु । म आफ्नो स्वभाविक खेलमा केन्द्रित छु र यो कुराले मेरो प्रदर्शनमा असर पनि गर्दैन । म प्रशिक्षकले दिएको जिम्मेवारी पूरा गर्न तयार छु ।’ 

लिभरपुल एकै सिजन चार उपाधिको कीर्तिमान रच्न चाहन्छ । चेल्सीलाई पराजित गर्दै इङ्लिस लिग कपको उपाधि जितिसकेको लिभरपुलले प्रिमियर लिगको दोस्रो स्थानभा छ । लिभपुलले वेम्बलीमा अप्रिल १६ मा एफए कपको सेमिफाइनलमा सिटीको सामना गर्नेछ । 

च्याम्पियन्स लिगमा पनि लिभरपुल सेमिफाइनलको संघारमा छ । लिभरपुलले गत साता क्वार्टरफाइनल पहिलो लेगमा बेन्फिकालाई ३-१ ले हराएको थियो ।