पेप ग्वार्डिओला

शान्त बन्ने प्रयासमा ग्वार्डिओला

लन्डन । इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर सिटी र लिभरपुल आमनेसामने हुँदैछन् । इतिहाद रंगशालामा हुने यो खेलले लिग उपाधिको सम्भावित विजेता उद्घोष गर्ने सामथ्र्य राख्छ । किनभने लिगमा ३० खेल खेलिसकेका यी दुई टिमलाई मात्र एक अंकले छुट्याएको छ । सिटीको ७३ अंक छ भने लिभरपुलको खातामा ७२ अंक छ । 

उपाधिका लागि भइरहेको प्रतिस्पर्धा पेचिलो बन्दै जाँदा पनि ग्वार्डिओला शान्त नै देखिएका छन् । जबकि च्याम्पियन्स लिगकै खेलले पनि उनको टाउको दुखाउनु पर्ने हो । च्याम्पियन्स लिगको अन्तिम आठमा सिटीको विपक्षी हो, एट्लेटिको मड्रिड । यहीबेला सिटीले लिभरपुलको पनि सामना गर्ने तालिका छ । त्यो पनि एक पटक मात्रै होइन। 

यस्तोमा सिटीले लगातार चार खेलमा बलियो प्रदर्शन गर्नुपर्ने बाध्यता छ । एट्लेटिकोसँगको पहिलो लेगको परीक्षामा सिटी पास भइसक्यो । अब उसले लिभरपुलसँग खेल्दैछ । त्यसपछि फेरि एट्ल्टिको अनि एएफए कपमा लिभरपुलले उसलाई टक्कर दिनेछ । 
यी चार महत्वपूर्ण खेलका लागि तयारीमा व्यस्त ग्वार्डिओला सञ्चार माध्यमअघि प्रस्तुत हुँदा धैर्यवान् देखिन्छन् । सिटीको सिजन नै सफल र असफल बनाउने ल्याकत राख्ने यी खेललाई लिएर ग्वार्डिओला के साँच्चै चिन्तित छैनन् त रु जबकि विगतमा अफ्ठेरो खेलअघि उनी अत्तालिएको हाउभाउ देखाउँथे । 

यसपालि भने ग्वार्डिओला पत्रकार सम्मेलनमा चिन्तित मुद्रामा होइन मजाक गर्ने मुडमा उपस्थित हुन्छन् । केही दिनअघि एक पत्रकार सम्मेलनमा उनलाई भविष्यमा एरिक टेन हागल सिटीको प्रशिक्षक बन्ने सम्भावना कत्तिको छ भनेर सोधिएको थियो । त्यसमा उनले हाँस्दै जवाफ दिए, ‘ के म अहिल्यै जागीर छाडौँ ?’

च्याम्पियन्स लिगबारे सोधिएको प्रश्नमा उनले तत्कालै जवाफ दिइहाले, ‘तपाइँहरुलाई थाहा छ, कुनै पनि खेललाई लिएर म आवश्यकता भन्दा धेरै नै सोच्छु ।’ 

वास्तवमा भन्ने हो सिटी अहिले निर्णायक मोडमा छ । कि त अत्याधिक सफल कि त असफल हुने अवस्थामा छ । अन्तर्राष्ट्रिय ब्रेकअघि क्रिस्टल प्यालेससँग बराबरी खेलेपछि सिटीका खेलाडीहरु केही आत्तिएको हुनुपर्छ । किनभने त्यही नतिजाका कारण लिभरपुल सिटीको थप नजिक आइपुगेको हो । ग्वार्डिओला आफैँले पनि सिटीका खेलाडीहरुमा डर पैदा भएको प्रतिक्रिया दिएका थिए । 

यद्यपि एट्लेटिकोमाथि साँघुरो जित हासिल गरेपछि भने सिटीको टिम केही हदसम्म सम्हालिएको हुनुपर्छ । अत्याधिक रक्षात्मक खेल खेल्ने एट्लेटिकोेविरुद्ध सिटीका खेलाडीहरु धैर्यवान देखिएका थिए । अब यस्तै धैर्य देखाउनु पर्ने खेल आइतबारको हो । लिभरपुलसँगको खेल सिटीका लागि एट्लेटिकोसँगको खेलभन्दन महत्वपूर्ण हो । किनभने यो खेल गुमाए सिटी लिग उपाधि दौडमा पछि पर्नेछ । फेरि यो नतिजाले एट्लेटिकोसँगको निर्णायक भेटलाई पनि असर गर्नसक्छ । 

सिटीलाई केही सिजनयता लिभरपुलले टक्कर दिइरहेको छ । ग्वार्डिओला आफैँले पनि लिभरपुल आफ्नो प्रशिक्षण करियरको सबैभन्दा कठिन विपक्षी रहेको स्विकार गरिसकेका छन् । उसो त यी दुई टिमबीच केही समानता पनि छन् । दुवै टिम अपराजित लयलाई जारी राख्न सक्षम छन् । दुवैका प्रशिक्षक आक्रामक फुटबल खेलाउन मन पराउँछन् । 

योर्गन क्लपको लिभरपुलको सामना गर्नुअघि ग्वार्डिओलाले राम्रै तयारी गरेका हुन्छन् । विपक्षी अनुसारको विशेष तयारी गर्ने उनको बानी नयाँ होइन । बायर्न म्युनिखमा रहँदा महत्वपूर्ण खेलअघि उनी सदाभन्दा चाँडै उठ्ने गर्थे । र, आफ्ना सहायकहरुसँग लामो छलफल गर्थे । उनलाई त्यहाँ च्याम्पियन्स लिग जिताउने ठूलो दबाब थियो । स्पेनमा दुई पटक च्याम्पियन्स लिग जितेर जर्मनी गएकाले पनि उनीमाथिको अपेक्षा ठूलो थियो । यही दबाब सिटीमा पनि उनले झेलिरहेकन छन् । तर यो सिजन दबाब च्याम्पियन्स लिगको मात्र होइन, लिग उपाधि रक्षा गर्ने पनि छ । 

कुनैबेला ग्वार्डिओला लिभरपुलका मोहम्मद सलाह, साडियो माने र रोबर्टो फरमिन्होको साझेदारीले तर्सिन्थे । हालको लिभरपुलमा यी तीनलाई साथ दिन डिएगो जोटा र लुइस डियाज छन् । यसअर्थमा चार वर्षअघिको भन्दा बलियो बनेको छ लिभरपुल । जसले गर्दा पाका बन्दै गएका सलाह, माने र फरमिन्होेले आराम पाउने स्थिति सिर्जना भएको छ । 

उसो त ग्वार्डिओला पनि उमेरका हिसाबले उकालो चढिरहेका छन् । गत जनवरीमा उनी ५१ वर्ष पुगे । उमेर बढ्दै गएसँगै आफू शान्त पनि बनिरहेका बताउँछन्, सिटी प्रशिक्षक । आफैँमाथि दबाब सिर्जना गर्ने बानी कम गर्न चाहिरहेको उनको भनाइ छ । जति शान्त बन्यो त्यत्ति नै बलियो प्रशिक्षक बनिने उनको निक्र्योल छ । ‘पहिलेको भन्दा धेरै शान्त भएको छु । वा कोशिस गरिरहेको छु । शान्त नभए राम्रो प्रशिक्षक बन्न सकिँदैन । म पहिले राम्रो प्रशिक्षक थिइनँ,’ ग्वार्डिओलाले हालै स्काई स्पोर्ट्ससँगको कुराकानी गर्दै भनेका थिए । तर शान्त हुँदैमा खेलाडीहरूबाट आफूले अधिकतम अपेक्षा भने गर्न नछाड्ने उनको भनाइ छ । 

यसकारण सिटीका खेलाडीहरूका लागि सन्देश प्रष्ट छ, लिभरपुलसँगको खेलमा अंक नगुमाउने । खेल सुरु हुनसाथ ग्वार्डिओला आफैँ पनि उही पुरानो रुपमा फर्कनेछन् । उनले शान्तिपूर्ण रुप धारण गरेको बिर्सनेछन् । उता लिभरपुलका प्रशिक्षक क्लपको हाउभाउ पनि ग्वार्डिओलाको भन्दा फरक हुने छैन ।