सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल

राष्ट्रिय महिला बिच भलिबलः गण्डकीलाई हराउँदै सुदूरपश्चिम तेस्रो

पाल्पा । सुदूरपश्चिम प्रदेशले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।

पाल्पाको सदरमुकाम तानसेनस्थित रानीमहलमा शनिबार सम्पन्न तेस्रो स्थानको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सोझो सेटमा स्तब्ध पार्यो । सुदूरपश्चिमले पहिलो र दोस्रो सेट क्रमशः २१–१२, २१–१७ ले जित्यो ।  

घरेलु प्रतियोगितामा परिचित नाम पवित्रा विसीको कप्तानीमा गण्डकी मैदान उत्रिएको थियो । सुदूरपश्चिम भागरथी जोशीको कप्तानीमा मैदान उत्रिएको थियो । तेस्रो भएसँगै सुदूरपश्चिमले नगद ३० हजार रुपैंया प्राप्त गरेको छ ।

सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा बिहीबारदेखि जारी प्रतियोगिताको फाइनलमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।  

कालीगण्डकी नदी किनारमा चलिरहेको प्रतियोगितामा दुई विभागीय टोलीसहित सात प्रदेश सहभागी थिए । जसमा पुलिस, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, प्रदेश एक र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए ।