पिएम कप भलिबल

पिएम कप: न्यु डायमन्डको पहिलो जित

काठमाडौं । न्यु डायमन्ड एकेडेमीले शुक्रबार प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा भएको दिनको दोस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले भारतीय टिम एकलब्य स्पोर्ट्स कम्प्लेक्स (छत्तीसगढ) लाई ३–० सेटले पराजित गर्यो । 

न्यु डायमन्डले एकलब्यमाथि २५–१२, २५–८, र २५–५ ले जित निकाल्यो । न्यु डायमन्ड एकेडेमीकी रिमा कुवँर खेलको प्लेयर अफ द म्याच घोषित भइन् । शुक्रबारै सम्पन्न दिनको पहिलो खेलमा भारतीय टिम हरियाणा स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३-२ सेटले पराजित गरेको थियो। 

प्रतियोगिताको तेस्रो दिन शनिवार लिग चरणको अन्तिम खेल लुम्बिनी युनाइडेड विरुद्ध हरियाणा स्पोर्ट्स क्लब तथा त्रिभुवन आर्मी क्लब विरुद्ध एकलब्य खेल्नेछन । प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।