टाइगर कपः

टाइगर कपः आर्मीसँग साविक विजेता गण्डकी पराजित

काठमाडौं । साविक विजेता गण्डकी प्रदेशलाई ३-१ को सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले बिहीबार टाइगर कप महिला तथा पुरूष भलिबल प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

पोखरामा जारी प्रतियोगिताको पुरूषतर्फको पहिलो खेलमा विभागीय टोली आर्मीले गण्डकीलाई २५-२५, २०-२५, २५-१५, २५-२३ को सेटमा हरायो । यो जितसँगै आर्मी ६ अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ ।

यसअघि आर्मीले आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३-१ को सेटमा हराएको थियो । दोस्रो खेलमा आर्मी हेल्प नेपालसँग सोझो सेटमा पराजित भएको थियो ।

पुरूषतर्फ आठ अंक जोड्दै नेपाल पुलिस प्रतियोगिताको शीर्ष स्थानमा छ ।

पुरूषतर्फको दोस्रो खेलमा हेल्प नेपाल र एपिएफले प्रतिस्पर्धा गरिरहेका छन् ।

बिहीबारै हुने महिलातर्फको पहिलो खेलमा आर्मी र आयोजक टोली टाइगर ग्रुप पोखरा तथा दोस्रो खेलमा न्यु डाइमन्ड एकेडेमी र पुलिस आमनेसामने हुनेछन् ।