हेल्प नेपाल समूह विजेता 

काठमाडौं, (खेलाडी)- साविक विजेता हेल्प नेपाल राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा समुह ‘ए’ को विजेता बनेको छ ।

 बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द (राखेप)  कभर्डहलमा भएको खेलमा हेल्प नेपालले गल्कोट विरुद्ध ३-१ को संघर्षपूर्ण जित निकाल्यो । 

भारतको राष्ट्रिय टिमका पूर्व कप्तान विनित कुमार, चिराग र सेगलेन तारिक खान सम्मिलित हेल्प नेपाललाई गल्कोटले कडा चुनौती दिएको थियो । 

पहिलो सेट २५-१८ ले आफ्नो बनाएको हेल्प नेपालले दोस्रो सेट २२-२५ ले गुमाएको थियो । निकै रोमाञ्चक खेलको तेस्रो र चौथौं सेट २५-२२, २५-१९ ले सहजै आफ्नो पक्षमा पार्दै हेल्प नेपालले खेल जित्यो । 
जितपछि हेल्प नेपालले तीन खेलबाट लगातार नौं अंक जोडेको छ ।

दुई जित र एक हार बेहोरेको गल्कोट ६ अंक जोड्दै समूहको उपविजेता बनेको छ । 


यसअघिको खेल समुह ‘बी’ को मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लबबीचको थियो । जसमा मणिमुकुन्दले पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट २१-२५ ले गुमाएको थियो । तर तेस्रो र चौथौं सेट २५-१५ र २५-२३ ले जित्यो । 

तीन खेलबाट चार अंक जोडेको मणिमुकुन्द समुह चरणबाटै बाहिरिसकेको छ । 

यसअघि नै समुह ‘बी’ बाट नेपाल पुलिसले नौं अंक बटुल्दै विजेता बनिसकेको छ भने गण्डकीले पाँच अंक जोड्दै उपविजेता बनेको छ ।