भैरहवाको सहज जित

काठमाडौं, (खेलाडी)-  भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा बुधबार जितको स्वाद चाखेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा विराटनगर वारियर्सले प्रस्तुत गरेको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा मात्र चार विकेटको क्षतीमा भेट्टायो ।

भैरहवाका लागि उपुल थरंगाले सर्वाधिक ३४ र ओपनर प्रदिप ऐरीले २२ रन जोडे । थरंगाले ३५ बलमा चार चौका प्रहार गरे । 

विराटनगरका रामनरेश गिरीले दुई तथा करण केसी र वसन्त रेग्मीले समान एक विकेट लिए ।

जारी प्रतियोगितामा भैरहवाको यो पहिलो जित हो । यसअघि आइतबार वर्षा बाधक बन्दा भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो । 

टस हारेर ब्याटिङका लागि आएको बिराटनगर वारियर्स भैरहवाका बलर सामु निरिह बन्दा ९० रनमा सीमित भएको थियो ।
बिराटनगरले  १७.४ ओभरमा सबै विकेट गुमाउदै ८९ रन मात्र  बनाएकाे थियाे ।

विराटनगरका  दिलसान मुनविराले सर्वाधिक २५, सुमित महर्जनले १३ ,अनिल शाह र ओपनर आसिफ शेखले समान ११ रन जोडे ।

भैरहवाका धमिका प्रसाद र आरिफ शेखले समान तीन विकेट लिए ।