आइपिएल इलिमिनेटरमा कोलकातालाई बेङलोरले दियो एक सय ३९ रनको लक्ष्य

सारजहाँ, (खेलाडी)- इन्डियन प्रिमियर लिग (आइपिएल) को इलिमिनेटरमा सोमबार रोयल च्यालेन्जर्स बेङलोर (आरसिबी) ले कोलकाता नाइट राइडर्सलाई एक सय ३९ रनको लक्ष्य दिएको छ ।

सारजहाँमा टस जितेर पहिला ब्याटिङ गरेको आरसिबीका लागि कप्तान विराट कोहलीले बनाएको ३९ रन सबभन्दा ठूलो व्यक्तिगत स्कोर थियो । ३३ बल खेलेका कोहलीले पाँच चौका प्रहार गरेका थिए । 

पहिलो विकेटका लागि कोहलीले देवदत्त पाडिकलसँग ४९ रनको साझेदारी गरे । पाडिकलले १८ बलमा दुई चौकासहित २१ रनको योगदान गरेका थिए । 

कोलकाताका सुनिल नारिनले चार ओभरमा २१ रन खर्चिँदै चार विकेट लिएको इनिङमा आरसिबीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनाएको थियो । 

आरसिबीका ग्लेन म्याक्सवेलले १८ बलमा एक चौकासहित १५ रन बनाए भने शाहबाज अहमदले १४ बलमा १३ रन जोडे । उनले एक चौका प्रहार गरेका थिए । कुनै पनि ब्याटरले छक्का प्रहार गर्न नसकेको इनिङमा आरसिबीका लागि दोहोरो अंकमा स्कोर गर्ने अर्का ब्याटर एबी डी भिलियर्स थिए । डी भिलियर्सले नौं बलमा एक चौकासहित ११ रन बनाए । 

कोलकाताका लागि लोकी फर्गुसनले दुई विकेट लिए । 

सारजहाँमा जारी खेलको विजेताले भोली मंगलबार हुने दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग खेल्नेछ । दोस्रो क्वालिफायरको विजेताले शुक्रबार दुबईमा हुने फाइनलमा चेन्नई सुपर किंग्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । 

आइतबार भएको पहिलो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई चार विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।