सहिद स्मारक ‘ए’ डिभिजन लिग

अग्रता जोगाउन नसक्दा एनआरटी अंक बाँड्न बाध्य

काठमाडौं । सहज अग्रता जोगाउन नसक्दा न्युरोड टिम (एनआरटी) एपिएफ क्लबसँग अंक बाँड्न बाध्य भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शुक्रबार सम्पन्न छैटौ चरणको पहिलो खेलमा एनआरटीले एपिएफसँग ३-३ को बराबरी खेलेको हो ।

३२औं मिनेटमा मेसुके ओलुमेउको क्रसमा दर्शन गुरुङले गरेको  गोलमा एनआरटीले अग्रता लिएको थियो ।तर त्यसको पाँच मिनेटपछि नै आशिष लामाको गोलमा एपिएफ खेलमा फर्कियो । 

४८औं मिनेटमा रञ्जन विष्टको पासमा दर्शनल बललाई जाली चुमाउँदा एनआरटीले पुनः अग्रता लियो । ६१औं मिनेटमा मेसुकेले एपिएफका गोलकिपर युया कुरियासँग वान भर्सेस वानमा गोल गर्दै एनआरटीलाई ३-१ को अग्रता दिलाए ।

त्यसको चार मिनेटपछि नै एपिएफका दिशेन धिमालले गोल गर्दैै टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए । ३९औं मिनेटमा नविन लामाले गरेको गोलमा एपिएफ खेलमा फर्कियो ।

एनआरटीको ६ खेलमा ७ अंक छ भने एपिएफको समान खेलमा पाँच अंक छ ।

शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस् क्लब आमने सामने हुँदैछन् ।