सुमन लामा

चोट, संघर्ष, सफलता र सुमन

  • लगातारको असफलता र आर्थिक अभाव,
  • काठमाडौंको ठन्डीमा पानी ट्यांकरको छतमा कठ्याङग्रिँदै अभ्यास गर्न जानुपर्ने बाध्यता,
  • बुट नहुँदा ठिहिर्याएको खाली खुट्टाले नै बल हान्नुपर्ने नियति
  • पढाइमा केन्द्रित हुन बाबाले दिने मार्गनिर्देश
  • फुटबलमै रमाउन आमाले दिएको साथ 
    अनि
  • लामो संघर्षपछि फुटबल करियरको राजमार्ग समाउँदाको उत्साह ।

यी, यस्तै स्मरणले दिने रोमाञ्चले त सुमन लामाको फुटबल करियरलाई अचेल अझ बढी ऊर्जा दिन्छ । चोटले शरीर थलिँदा पनि मन उत्तिकै प्रतिबद्ध भइरहन्छ । असफलता हात लाग्दा पनि फेरि सफल हुने हुटहुटीले मिहिनेत गर्न समर्पित गराइरहन्छ ।

हो, गौरवशाली राष्ट्रिय फुटबल टोलीको हिस्सा बन्न भ्याइसक्दा फरवार्ड सुमन लामासँग करियर सुरु गर्दाका केही यस्तै स्मरण छन् । तर यी त सबै स्मरण हुन् । अतीत न हुन् । वर्तमान त उनको गौरवशाली छ । देशका लागि उपाधि जित्ने राष्ट्रिय टोलीका हिस्सा हुन् उनी । साफ च्याम्पियनसिपमा पहिलो पटक नेपाललाई फाइनलसम्म पुर्याउने टिमका महत्वपूर्ण सदस्य हुन्, उनी ।

एउटा खेलाडीका लागि राष्ट्रिय टोलीको हिस्सा बन्नु, राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान उत्रिनु, देशका लागि गोल गर्नु, योभन्दा ठूलो उत्कर्ष के होला र ? सुमनले २६ वर्षको उमेरमा त्यो उत्कर्ष हासिल गरिसकेका छन् । अबको उद्देश्य भनेको त्यसमा टिकिरहने हो । राष्ट्रिय टिमका लागि आफूलाई लायक राखिरहने उद्देश्यमा सुमनका लागि तिनै पुराना स्मरण ताजा बन्ने गर्दछ ।

सुमन आफैंलाई थाहा छैन, कहिल्यैदेखि आफूले फुटबल खेल्न सुरु गरें भनेर । परिवार पुख्र्यौली थलो सर्लाही छोडेर काठमाडौंको जोरपाटी बसाइ सरेपछि उनी जन्मिएका थिए । जोरपाटीमै उनको फुटबल मोह टुसाएको हो । उनका बुबा पनि फुटबलप्रेमी भएकाले आफूमा यो खेलप्रतिको मोह जागेको सुमनलाई लाग्छ ।

उनका बुबा पनि फुटबलका समसामयिक गतिविधिमा जानकार नै हुन्थे । त्यसैले उनले छोरालाई एन्फा एकेडेमीका लागि ११ वर्षमुनिको छनोटमा सहभागी गराएका थिए । जहाँ सुमनलाई सफलता मिलेन । एन्फा एकेडेमीको छनोटमा सफलता नमिलेको त्यही एउटा अवसर थिएन । उनले त्यसपछि पनि तीनपल्ट असफलताको मुख देख्नुप¥यो । १३ वर्ष, १४ वर्ष र १५ वर्षमुनिको छनोटमा पनि सुमनको भाग्य बदलिएन ।

भाग्य नबदलिए जस्तै सुमनको फुटबलमोह र एक दिन सफल भएरै छोड्ने अठोट पनि फेरिएन । त्यसैले चरम आर्थिक अभावसँग यी दृढनिश्चयी किशोरले हात उठाएनन् । बरू बुट नहुँदा खाली खुट्टाले नै बल हानिरहे । सार्वजनिक बस चढ्ने समेत पैसा नहुँदा पानी ट्यांकरको छतमा चढेर भए पनि जोरपाटीबाट नियमित सानो गौचरण धाइरहे ।

‘बाबाको सवारी साधन थिएन । बस/टेम्पु चढ्नका लागि पैसा हुँदैनथ्यो अनि हामी केही साथी ट्यांकरको छतमा बसेर सानो गौचरण जान्थ्यौं । ट्यांकर चलाउने दाइले पनि फुटबल खेल्छ भन्ने थाहा भएपछि सधैं गाह्रो नमानी लगिदिनुहुन्थ्यो । अरू बेला त ठीकै हो, जाडो महिनामा चाहिँ पानीको ट्यांकरमाथि साह्रै कष्ट हुन्थ्यो,’ आजकाल सम्पर्कमा नरहेका ती ट्यांकर चालकको गुन सुमनले बिर्सेका छैनन्, ‘भेट्न पाए ‘धन्यवाद’ भन्न हुन्थ्यों । उहाँ पनि म राष्ट्रिय खेलाडी भएको थाहा पाएर खुसी हुनुहुन्थ्यो होला ।’

एन्फाको छनोटमा लगातार असफल भइरहेपछि सुमनलाई उनका बुबाले फुटबलभन्दा पढाइमा ध्यान केन्द्रित गर्न सुझाएका थिए । आमाले भने उनलाई संघर्ष गर्न प्रोत्साहित गरिरहिन् । आमाको प्रेरणामा दैनिक प्रशिक्षणलाई निरन्तरता दिएका सुमनले अन्ततः एन्फाको १६ वर्षमुनिको छनोटमा सफलता प्राप्त गरेर छाडे ।

प्रसंग, २०६७ सालको हो । सुमनले एसएलसी पनि सिध्याए । एन्फा एकेडेमीका लागि छानिए । दुई वर्ष एन्फा एकेडेमीमा बस्नेक्रममा उनले १६ वर्ष र १८ वर्षमुनिको राष्ट्रिय टिमबाट देशका लागि खेल्ने मौका पाए ।

एन्फा एकेडेमीबाट खारिएर निस्किएपछि सुमनलाई थुप्रै क्लबबाट प्रस्ताव आएका थिए । तर उनले आफू जन्मेहुर्केको ठाउँको बौद्ध फुटबल क्लब रोजे । बौद्धका प्रशिक्षक थिए, हाल राष्ट्रिय टोलीका सहायक प्रशिक्षक किरण श्रेष्ठ ।

दुर्भाग्य, बौद्ध त्यही वर्ष रेलिगेसन पर्यो । सुमनको औसत प्रदर्शनमात्र बौद्धलाई ‘ए’ डिभिजन लिगमा जोगाउन पर्याप्त थिएन ।

‘टिम कस्तो बनाउने र के गराउने भन्नेमा व्यवस्थापकीय भूमिका ठूलो हुने रहेछ । बौद्ध क्लबले व्यवस्थापनमा त्यसो गर्न सकेन । जसका कारण रेलिगेसन भयो,’ सुमन सम्झन्छन् ।

बौद्ध रेलिगेसनमा परेपछि सुमनलाई संकटा क्लब र नेपाल पुलिस क्लबले प्रस्ताव गरे । सँगै रानीपोखरी कर्नर टिम (आरसिटी) ले पनि उनीमाथि आँखा लगाएको थियो । फुटबलकै कारण उनले सिद्धार्थ वनस्थली स्कुल पढ्ने मौका पाएका थिए । तत्कालीन स्कुलका प्रशिक्षककै नेतृत्वमा आरसिटी पनि थियो । त्यसैले उनले स्वाभाविक रूपमा संकटा र पुलिसको प्रस्ताव अस्वीकार गर्दै आरसिटीको बाटो तताए ।

सुमनको संघर्षमय सुरुआतमा आरसिटी पनि लामो समयको गन्तवय बन्न सकेन । सुमन र आरसिटी दुवैका लागि त्यो सिजन बिर्सनलायक रह्यो । नेपाली फुटबलमा लामो इतिहास बोकेको आरसिटीले २०७० सालको लिगबाट शीर्ष डिभिजनको हैसियत गुमायो । सुमनका लागि ‘जता पुग्यो, उतै रेलिगेसन’ नियति जस्तो बन्यो ।

आरसिटी रेलिगेसनमा परेपछि सुमनको अल्पकालीन गन्तव्य बन्यो संकटा क्लब । संकटाबाट २०७० को एनसेल कप खेल्दा भने सुमनको करियरले सफलताको मीठो स्वाद चाख्न पायो । उनको टोली सेमिफाइनलमै रोकियो । तर सुमनले भने २१ वर्षकै उमेरमा उत्कृष्ट खेलाडी घोषित हुँदै मोटरसाइकल पुरस्कार पाए ।

शीर्ष स्तरको फुटबलमा सुमनको करियरले उचाइ लिँदै थियो । नेपाली फुटबल राजनीतिक द्वन्द्वको भूमरीमा फस्यो । लिग रोकियो । खेलाडी र अन्य फुटबल प्राविधिक त्यसको दुस्प्रभावमा परे । राजनीतिमय फुटबलमा प्रतियोगिता हुन छोडेपछि सुमनले नेपाल पुलिस क्लबको एकेडेमीमा गएर फिटनेस कायम राख्नेक्रम सुरु गरे ।

घरेलु फुटबल शून्यमा पुगेपछि सुमनले विदेशिने सोच बनाए । लाहुरे बन्ने सपनामा भारतीय सेनाको भर्तीकेन्द्र धाउन थाले । उनीसँगै धाउने केही खेलाडी सुरुआती चरणमै अयोग्य ठहरिए । सुमनले भने आफ्नो बाटो मेडिकल परीक्षणसम्म पुर्याए । त्यहाँबाट अगाडि बढ्न भने सुमनलाई पनि सम्भव भएन ।

भारतीय सेना बन्ने सपनामा उनी अयोग्य ठहरिए । नेपाली फुटबलका सिपाही बन्ने भाग्य लिएर जन्मिएका उनले विदेशी सेनाको बर्दी लगाएको सुहाउने पनि त थिएन ।

‘खेलेर केही हुँदैन भनेर लाहुर जान प्रयास गरें । इन्डियन आर्मीमा भिडेको थिएँ । तर सफल भइनँ । त्यो असफलता मेरो राम्रोका लागि भएको रहेछ । त्यतिबेला नाम निस्केको भए आज म राष्ट्रिय फुटबलर हुन्न थिएँ,’ पुलिससँग आबद्ध हुनुको कारण खुलाउँदै उनी भन्छन्, ‘अब फुटबलमा केही नहुने भयो । बरू विदेश जानुभन्दा पनि जागिरै खान्छु भनेर पुलिसमा लागें । त्यसपछि पुलिसमै जागिर पनि भयो ।’

पुलिसमा सुमनको पद परिचर हो । खुला प्रतिस्पर्धाबाट गएर सिपाही वा असई हुने योग्यता उनमा थियो । तर त्यसो गर्दा डेढ वर्ष तालिममा रहँदा फुटबलबाट टाढिनुपर्ने भएकाले उनले परिचर रोजे । फुटबलको लोभले बढुवा हुने सम्भावनालाई लत्याए ।

फुटबलमा दृश्य फेरिँदै छ । प्रतियोगिताहरू नियमित हुन थालेका छन् । विभागीय टिमबाट खेल्नेले सरकारी स्केलको पारिश्रमिकमा भर पर्नुपर्दा बाहिरका क्लबबाट खेल्नेले लाखौं रुपैयाँ हात पार्छन् । तर यसले सुमनलाई कुनै पछुतो छैन । बाहिरका क्लबले सम्झौता गरे पनि समयमा पारिश्रमिक नदिँदा साथीहरूले भोगेको पीडाबारे जानकार भएकाले पनि पुलिस भएकोमा उनी सन्तुष्ट छन् ।

पुलिस क्लबमै रहेर नियमित प्रशिक्षणमा रहनुले उनलाई राष्ट्रिय खेलाडी बन्ने सिँढी चढ्न सजिलो भएको थियो । फुटबल खेल्ने धुनमा मस्त भएर १२ कक्षापछि पढाइ छोडेका सुमन २२ वर्षको उमेरमा राष्ट्रिय टोलीलाई छानिएका थिए ।

बंगलादेशको ढाकामा भएको बंगबन्धु कपका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले छानेको टोलीमा पुलिस क्लबबाट नियमित प्रशिक्षण गरिरहेका सुमनले स्थान बनाए । २०७२ सालको पुसमा भएको त्यो प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्धको खेल सुमनका लागि राष्ट्रिय टोलीबाट पहिलो खेल थियो ।

सामान्यतः ‘डेब्यु’ खेल हरेक खेलाडीका लागि महत्वपूर्ण हुने गर्छ । सुमनका लागि भने त्यो खेल मैदानभित्र एक पटक बल नछोइकन टुंगियो । ‘बेञ्चबाट सुरु गरेको त्यो खेल सकिन चार मिनेट बाँकी रहँदा मलाई मैदान प्रवेश गराइयो । खेलमा हामीले अग्रता लिइसकेका थियौं । त्यसलाई जोगाउनुपर्ने थियो । मेरा लागि बल नछोइकन यताउता कुद्दाकुददै समय सकियो,’ सुमन ‘डेब्यु’ सम्झँदै मुस्कुराउँछन् ।

राष्ट्रिय टोलीबाट बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप जितेका सुमनले २३ वर्षमुनिको राष्ट्रिय टोलीबाट नेपालका लागि १२औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलको स्वर्ण पदक जितेका थिए ।

एकै वर्ष २०७२ सालमा यति सफलता हासिल गरेपछि सुमनको करियरमा अर्को समस्या आइलाग्यो । पुलिसको टोलीबाट खेल्ने क्रममा उनको घुँडामा चोट लाग्यो । जसले उनलाई एक वर्ष मैदानबाहिर सीमित बनायो ।

चोटमुक्त हुँदै २०७५ सालमा पुनरागमन जनाउँदै कुवेतविरुद्धको मैत्रीपूर्ण शृंखला खेलेका उनी फेरि चोटको सिकार भए । त्यही शृंखलामा घुँडाको चोट बल्झिँदा उनी थप दुई वर्ष मैदानबाहिर भए ।

‘चोटकै कारण म धेरै तल परें । आफ्नो खेल देखाउने समयमा घाइते हुँदा फुटबलमा मैले लिँदै गरको उचाइमा असर पर्यो । घरमा बस्नुपर्दा ठूल्ठुला प्रतियोगितासमेत गुमाएँ,’ उनले भने ।

चोटपछि सुमन बुटवल लुम्बिनी एफसीको प्रतिनिधित्व गर्दै नेपाल सुपर लिग (एनएसएल) बाट घरेलु फुटबलमा फर्किए । लुम्बिनीले प्लेअफसम्मको यात्रामा कुल ७ खेल खेल्दा ५ सय २८ मिनेट खेल्दै एक गोल पनि गरे । एनएसएलको प्रदर्शनले उनलाई राष्ट्रिय टोलीमा फेरि फर्कायो ।

‘धेरै पछि राष्ट्रिय टोलीमा पर्दा छुट्ट महसुस हुने रहेछ । म ठीक हुँदा पनि बालगोपाल सरको टोलीमा परेको थिइनँ । अब्दुल्लाह अल्मुताइरीको नाममा परे । यसपछि टोलीमा परेरै देखाउँछु भन्ने थियो,’ उनले भने ।

सुमनले कुवेतमा इराकसँगको खेलबाट राष्ट्रिय टोलीमा पुनरागमन गरे । इराकविरुद्ध ६–२ ले नतिजा गुमाउँदा पहिलो रोजाइबाट खेलेका सुमनले ७९ मिनेट मैदानमा बिताए । त्यसपछि विश्वकप छनोटको दोस्रो चरणमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियाविरुद्ध पूरा समय खेले । त्यसयता उनी राष्ट्रिय टोलीमा निरन्तर छन् ।

सुमनको फुटबल करियरमा दुई महिनाअघि माल्दिभ्समा सम्पन्न १३औं साफ च्याम्पियनसिप महत्वपूर्ण रह्यो । सुमनमात्र नभई नेपाली फुटबलमै ऐतिहासिक सफलता मिलेको १३औं साफमा सुमनले एक गोल गरे । नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्दा श्रीलंकामाथि पाएको ३–२ को जित महत्वपूर्ण थियो । जहाँ सुमनले एक गोल गरेका थिए ।

फाइनलमा भारतसँग ३–० ले पराजित भएपछि सुमनले एउटा पाठ पाएका छन्, ‘फाइनल जित्नका लागि व्यवस्थापनले धेरै गृहकार्य गर्नुपर्छ । अन्यथा भारतलाई हराएर उपाधि हात पार्न निकै कठिन छ । तर एन्फाले आवश्यक गृहकार्य गरेर फाइनल जित्ने योजना ल्याए त्यो एक दिन अवश्य पूरा हुनेछ ।’