जोकोभिचका समर्थकले मलाई गिज्याएका छैनन् : मेड्भेडेभ

लण्डन, (खेलाडी)- युएस ओपनका विजेता  ड्यानिल मेड्भेडेभले विश्व नम्बर एक नोभाक जोकोभिचलाई हराउने क्रममा उनका समर्थकबाट कुनै नराम्रो काम नभएको बताएका छन् ।

सोमबार युएस ओपनको फाइनलमा दोस्रो वरियताका मेड्भेडेभले विश्व नम्बर वानका जोकोभिचलाई ६-४, ६-४, ६-४ को सोझो सेटमा पराजित गर्दै पहिलो ग्रान्ड स्लम सपना सकारका पारेका थिए ।

मेड्भेडेभसँगको हारसँगै जोकोभिचको वर्षका चार वटै ग्रान्ड स्लाम जित्ने लक्ष्य अधुरै रह्यो । यस वर्ष फ्रेन्च ओपन, अस्ट्रेलियन ओपन र विम्बल्डन जितेका जोकोभिच मेड्भेडेभसँग पराजित भएसँगै सन् १९६९ मा रड लाभेरले राखेको एकै वर्ष ४ वटै ग्रान्ड स्लाम जित्ने कीर्तिमान बराबरी गर्नबाट चुकेका थिए ।

‘जोकोभिचका समर्थकले मलाई जिस्काएको जस्तो लाग्दैन,’ मेड्भेडेभले भने, 'त्यहाँ धेरै सर्बियाका  समर्थकहरु थिए । उनीहरुले मलाई गिज्जाएको मैले सुनिन । उनीहरु जोकोभिचको समर्थनमा चर्को आवाज निकालिरहेका थिए । मेरो लक्ष्य खेल जित्ने थियो र म खुशी छु । सबैकुरा एकातिर राखेर सबैलाई व्यवस्थित गरेँ ।’  

यसअघि सन् २०१६ मा पनि जोकोभिच फ्रेन्च ओपन, अस्ट्रेलियन ओपन र युएस ओपन जित्दै सन् १९६९ मा लाभरको वर्षका चार वटै ग्रान्ड स्लाम जित्ने कीर्तिमान बराबरी गर्ने संघारमा पुगेका थिए । तर विम्बल्डनमा निराश भएपछि उनको लक्ष्य अधुरै रहेको थियो ।

मेड्भेडेभसँगको हारपछि जोकोभिच रोजर फेडेरर र राफेल नाडाललाई उछिन्दै २१औं ग्रान्ड स्लाम उपाधिको कीर्तिमान रच्न पनि असफल भए । फेडेरर र नाडाडसँगै जोकोभिचको नाममा २० ग्रान्ड स्लाम उपािधको कीर्तिमान छ ।