बंगलादेशी राष्ट्रिय टोलीमा नाइजेरियन मुलका खेलाडी
ढाका, (खेलाडी)– बंगलादेशले नाइजेयिन मुलका इलेटा किग्सलेलाई समावेश गर्दै अक्टोबर पहिलो साताबाट सुरु हुने साफ च्याम्पियनसिपको लागि ३४ सदस्यीय टोलीको घोषणा गरेको छ ।
बंगलादेश फुटबल संघ (बीएफएफ) ले किग्सलेलाई राष्ट्रिय टोलीमा समावेश गरेपनि सो निर्णयलाई फिफाले भने अधिकारिकता प्रदान गरिसकेको छैन ।
घरेलु लिग सकिए लगत्तै बंगलादेशले सेप्टेम्बर २१ बाट साफ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षाण थाल्दैछ ।
नाइजेरियाका ओग्वानुमा जन्मिएका किग्स्लेले सन् २०२१ मा बंगलदेशको नागरिकता लिएका थिए ।
सन् २०११ मा बंगलादेशमा ब्यवसायिक फुटबल खेल्न आएका उनले अरामबाग केएस,टिम बिजेएमसी र मुत्तीजोधा संग्साद केसीबाट खेलिसकेका छन् । हाल उनी बंगलादेशको लिग च्याम्पियन बसुन्धारा किग्सबाट खेलिरहेका छन् ।
किंग्सलेले नाइजेरियाकै क्लब अक्वा युनाइटेडबाट ब्यवसायिक फुटबल करियरको सुरुवात गरेका थिए ।
किंग्सलेको साफ च्याम्पियनसिप खेल्ने सम्भावनाका बारेमा बोल्दै बीएफएफले फिफाले यसलाई चाडै नै मान्यता प्रदान गर्ने विश्वास व्यत्त गरेको छ ।
बंगलादेशले अक्टोबर १ मा श्रीलंकाविरुद्ध खेल्दै आफ्नो साफ च्याम्पियनसिप २०२१ को यात्राको थालनी गर्नेछ ।