विम्बल्डन

चोटका कारण नाडाल बाहिरिए, किर्गियोस फाइनलमा

लन्डन । राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिन बाध्य भएका छन् ।

सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो । 

बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३-६ ७-५ ३-६ ७-५ ७-६ (१०-४) को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएका थिए । ३६ वर्षीय नाडाल प्रतियोगिताका दौरान फिटनेसका लागि निकै संघर्ष गरिरहेका थिए । 

अस्ट्रेलियन र फ्रेन्च ओपनका विजेता नाडालको वर्षको तेस्रो ग्रान्ड स्लाम जित्ने लक्ष्यले पूर्णता पाएन । नाडाल कीर्तिमानी २२औं ग्रान्ड स्लामका विजेता हुन् । नोभाक जोकोभिच र रोजर फेडेररको नाममा समान २० ग्रान्ड स्लाम छ ।

क्वार्टरफाइनलमा जित निकालेसँगै नाडालले चोटका कारण सेमिफाइनलबाट नाम फिर्ता लिनु पर्ने सम्भावना रहेको र त्यसबाट आफू निकै चिन्तित रहेको प्रतिक्रिया दिएका थिए ।

नाडालले नाम फिर्ता लिएसँगै किर्गियोस भने पहिलो पटक ग्रान्ड स्लामको फाइनलमा प्रवेश गरेका छन् ।