विम्बल्डन

राडुकानुको यात्रा दोस्रो चरणमा सीमित

लन्डन । क्यारोलिन गार्सियासँग ६-३,६-३ को सोझो सेटमा पराजित हुँदै दोस्रो चरणबाट बाहिरिएपछि इमा राडुकानुले विम्बल्डनमा आफूले धेरै अपेक्षा नराखेको प्रतिक्रिया दिएकी छिन् ।

चोटका कारण राडुकानुले प्रतियोगिता खेल्छिन् वा खेल्दिनन् भन्ने नै दुबिधामा परेको थियो । 

‘हार सधै दुखद हुने गर्दछ’, राडुकानुले भनिन्, ‘म चोटका कारण केही महिना कोर्ट बाहिर रहे । त्यसैले पुनरागमनमा म खुशी छु । घरेलु समर्थकमाझ अघिल्लो चरणको यात्रा तय पाएको भए त्यो विशेष हुने गर्दथ्यो । तर पनि मैले यस पटक विम्बल्डनमा ठूलो अपेक्षा राखेको थिइन । त्यसैले जे जस्तो नतिजा आए पनि निराश भने छैन ।’

गत वर्ष युएस ओपन जितेपछि राडुकानुले कुनै  पनि ग्रान्ड स्लाममा लगातार खेल जित्न सकेकी छैनन् । उनी अस्ट्रेलियन र फ्रेन्च ओपनको पनि दोस्रो चरणबाट बाहिरएकी थिइन् ।