रुस-युक्रेन तनाव

डब्लुटीएले रुस र बेलारुसका टेनिस खेलाडीलाई प्रतिबन्ध नलगाउने

मस्को । वुमन्स टेनिस एसोसिएसन (डब्लुटीए) का अध्यक्ष स्टिभ सिमोनले रुस र बेलारुसका टेनिस खेलाडीहरुलाई राजनीतिक अवस्थाका कारण खेलबाट प्रतिबन्ध नलगाउने घोषणा गरेका छन् ।

रुसले युक्रेनमाथि सैन्य आक्रमण गरेपछि एटीपी र डब्लुटीएले रुस र बेलारुसका खेलाडीलाई देशको नाम र झण्डा प्रतिनिधित्व नगरी प्रतियोगितामा सहभागी हुन स्वीकृति दिएको थियो । जसका कारण रुसी ड्यानिल मेड्भेडेभले तटस्थ झण्डामुनि रहेर खेलिरहेका छन् ।

युक्रनेमाथि सैन्य कारवाही अघि बढाएसँगै रुसमा हुने तय भएका सबै टेनिस प्रतियोगिताहरु रद्द गरिएको थियो ।

ब्रिटिस खेलकुद मन्त्री निगेल हडलस्टनले मंगलबार युएस ओपन विजेता मेड्भेडेभ र अन्य रुसी खेलाडीहरुलाई राष्ट्रपति भ्लादिनिर पुटिनकोविरुद्व खडा नभएसम्म विम्बल्डन खेल्न रोक लगाउने बताएका थिए ।

तर, डब्लुटीएका अध्यक्ष सिमोनले रुस र बेलारुसका खेलाडीलाई अन्य खेलमा प्रतिबन्ध लगाए पनि टेनिस खेल्न सक्ने बताएका हुन् ।

‘हामीले राजनीति स्थितिको परिणामको कारण एथलिट्सलाई सहभागिता जनाउन कहिल्यै प्रतिबन्ध लगाएका छैनौं,’ उनले भने, ‘त्यसैले परिवर्तनको लागि यो महत्वपूर्ण छ । तर, आउँदा दिनमा के हुन्छ भन्ने कुरामा भने हामी पनि जानकार विहिन छौं ।’


यस्तै, अध्यक्ष सिमोनले तानाशाही नेतृत्वमा लागेर भयानक र नराम्रा काममा नलाग्न एथलेटिकहरुलाई आग्रह गरेका छन् ।