विश्व नम्बर एक बार्टी दोस्रो चरणमा


एजेन्सी। विश्व नम्बर एक एश्ले बार्टीले अमेरिकाकी बेर्नार्डा पेरालाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएकी छिन् । 

गत वर्ष कोभिड–१९ का कारण उपाधि रक्षा गर्न नसकेकी बार्टीले पहिलो सेट ६–४ ले जिते पनि दोस्रो सेटमा ३–६ को पराजय भोगेकी थिइन् । दोस्रो सेटपछि बार्टीको ढाडमा केही समस्या देखिएको थियो । तर उनी चाडै ठिक भइन् । २०१९ मा उपाधि जितेकी २५ वार्षिया बार्टीले तेस्रो सेट भने ६–२ ले जितिन् । 

‘फेरी यहाँ खेल्न पाउँदा खुशी छु । गत वर्ष खेल्न नपाउँदा निराश थिएँ । यो कोर्ट मेरो लागि विशेष छ । यहाँ दर्शकको अगाडी खेल्न पाउँदा राम्रो महशुस गरेको छु,’ बार्टीले भनिन् । अस्ट्रेलियाकी बार्टीले अब पोल्यान्डकी माग्डा लिनेटसँग प्रतिस्पर्धा गर्नेछिन् । 

पाँचौं वरियाताकी एलिना स्यितोलिनाले दोस्रो सेटमा संघर्ष गर्नु परे पनि १७ वर्षिया ओसियन बाबेललाई ६–२, ७–५ को सोझो सेटमा हराइन् । पेरिसमा तीन पटक क्वार्टरफाइनल खेलिसकेकी स्यितोलिनाले अब अमेरिकाकी एन लीविरुद्ध खेल्नेछिन् । लीले रुसकी मार्गारिता गास्पार्यनलाई ६–०, ६–१ को सेटमा हराएकी थिइन् । 

अस्ट्रेलियन ओपनको फाइनल खेलेकी जेनिफर बार्डीले अनास्तासिया सेभास्तोभालाई ६–३, ६–३ को सेटमा हराइन् । १३औं वरियाताकी बार्डीले नयाँ प्रशिक्षक ब्राड स्टिनको प्रशिक्षणमा खेलेको यो पहिलो खेल हो । 

नवौं वरियाताकी क्यारेलिना प्लिसकोभाले क्रोएसियाकी डोना भेकिकलाई ७–५, ७–४ को सेटमा हराइन् । १७औं वरियाताकी मारिया साकारीले क्याटरिना जाभास्कालाई ६–४, ६–१ ले हराइन् । एस्ट्रा शर्माले इरिना बारालाई ७–६(७÷५), ६–२ को सेटमा हराइन् । अमेरिकाकी कोको गउफले सर्वियाकी एलेक्सान्द्रा क्रुनिकलाई ७–६(१३÷११), ६–४ को सेटमा हराउँदै दोस्रो चरणमा स्थान बनाइन् ।