एकदिवसीय विश्वकपमा १४ टोली खेलाउने आइसिसीको निर्णय, ट्वान्टी २० विश्वकपमा २० टिम खेल्ने

दुबई, जेठ १९ (खेलाडी)– अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले ट्वान्टी २० विश्वकप प्रत्येक दुई वर्षमा गर्ने तथा २०२७ देखि ५० ओभरको विश्वकपमा पहिला झै १४ टिम सहभागि गराउने निर्णय गरेको छ । 

आइसिसीले मंगलबार जानकारी गराएअनुसार च्याम्पियन्स ट्रफी पनि पुनस्थापित गरिनेछ । विश्व क्रिकेटको सर्वोच्च निकायको पछिल्लो बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । आइसिसीले महिला प्रतियोगिताहरुको हकमा भने यसअघि नै निर्णय गरिसकेको छ ।

यसपालीको ट्वान्टी २० विश्वकपमा पूर्व निर्धारित कार्यक्रमअनुसार नै १६ टोलीको सहभागिता रहनेछ भने एकदिवसीय विश्वकपमा पनि १० टोलीलेमात्र प्रतिस्पर्धा गर्नेछन् । तर २०२७ को पुरुष विश्वकपमा भने सात÷सात टिमका दुई समूह हुनेछन् । समूहमा राउन्डरोबिन प्रतिस्पर्धापछि दुवै समूहका तीन÷तीन शीर्ष टोली सुपरसिक्समा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल हुनेछन् । २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकप पनि यस्तै स्वरुपमा खेलाइएको थियो ।

ट्वान्टी २० विश्वकपको आगामी संस्करणदेखि २० टोलीको सहभागिता गराइनेछ । जसमा पाँच टिम सहभागि चार समूह हुनेछन् । प्रत्येक समूहका शीर्ष दुई टिम सुपर एटमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल र फाइनल हुनेछ । 

आइसिसीको बोर्ड बैठकले आगामी २०२४ देखि २०३१ सम्मका कार्यक्रम तथा प्रतियोगिताहरु वारे निर्णय गर्नुका साथै विभिन्न प्रतियोगिताका आयोजक राष्ट्र तथा मिति निर्णयको प्रक्रिया पनि तय गरेको जनाएको छ । जसअनुसार पुरुष प्रतियोगिताहरुका आयोजक सेप्टेम्बर तथा महिला प्रतियोगिता तथा ट्वान्टी २० प्रतियोगिताका आयोजक नोभेम्बरमा निर्णय गरिनेछ ।