अस्ट्रेलियन ओपन

एलियासिमे चौथो चरणमा, रुबलेभ बाहिरिए

मेलबर्न । इङ्ल्यान्डका ड्यानिय इभान्सलाई सोझो सेटमा पराजित गर्दै विश्व वरियताको नवौं स्थानका फ्लेक्स अगर एलियासिमे वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकाछन् ।

मेलबर्न पार्कमा शनिबार एलियासिमेले वरियताको २४औं स्थानका इभान्सलाई ६-४ ६-१ ६-१ को सोझो सेटमा पराजित गरे ।

क्यानडाका २१ वर्षीय एलियासिमे गत सिजन ओपनको चौथो चरणबाट बाहिरिएका थिए । यद्यपि, सन् २०१८ देखि ग्रान्डस्लाममा डेब्यु गरेका एलियासिमेले गत वर्ष विम्बल्डनको क्वाटरफाइनल र युएस ओपनको सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए ।

उनले चौथो चरणमा क्रोएसियाका मारिन चिलिचको सामना गर्नेछन् । वरियताको २७औं स्थानका चिलिचले तेस्रो चरणमा पाँचौ स्थानका एन्ड्रे रुबलेभलाई ७-५ ७-६ (७-३) ३-६ ६-३ को सेटमा पराजित गरे ।

चिलिच गतवर्ष अस्ट्रेलियन ओपनको पहिलो चरणबाटै बाहिरिएका थिए ।