आइपिएल अक्सन

आइपिएलमा दर्ता भएका नेपाली खेलाडीको नाम सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा दर्ता भएका १५ नेपाली खेलाडीको नाम सार्वजनिक गरेको छ ।

क्यानले शनिबार अर्को महिना भारतको बेंग्लोरमा हुने अक्सनमा दर्ता भएका नेपाली खेलाडीको नाम सार्वजनिक गरेको हो ।

अक्सनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसँगै आरिफ शेख, आशिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी, अविनाश बोहरा, विनोद भन्डारी, सरद भेषवाकर, कुशल मल्ल, करन केसी, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरी छन् ।

नेपालबाट हालसम्म कप्तान सन्दीप लामिछानेले मात्र आइपिएल खेलेका छन् । सन्दीप सन् २०१८ मा दिल्ली क्यापिटल्समा आवद्द भएका थिए । यद्यपि, क्यापिटल्सबाट तीन सिजन खेलेका सन्दीपलाई पछिल्लो सिजन भने प्रतियोगिताका कुनै पनि टोली अनुवन्ध गरेनन् ।