अनुले कराते प्रिमियर लिग खेल्ने

काठमाडौं, (खेलाडी)- १३औं सागकी स्वर्ण पदक विजेता अनु अधिकारीले रुसको मस्कोमा हुने कराते प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

अनुले उक्त प्रतियोगितामा ५५ केजीमुनिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । प्रिमियर लिगमा विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन र महादेशीय च्याम्पियनले खेल्नेछ । यो ¥याङकिङ प्रतियोगिता पनि हो । 

अनुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले मंगलबार एक कार्यक्रमका बीच बिदाइ गरे ।

 यस प्रतियोगिताले नेपाली खेलाडीहरुको स्तर मापन गर्ने र नेपाललाई विश्व खेल मञ्चमा परिचय गराउँने भन्दै सिलवालले स्तरीय खेल प्रदर्शन गर्न र खेल कौशलता सिकेर आउन सुझाव दिए । 

प्रत्येक तौल समूहमा विश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रशिक्षक दीपक श्रेष्ठले बताए । अनु हाल विश्वको १ सय ६३औं स्थानमा छिन् । लिगमा शीर्ष १० स्थान हासिल गर्ने खेलाडी ओलम्पिकका लागि स्वत छनोट हुनेछन् ।

प्रत्येक तौलसमूहमा विश्वका ६४ खेलाडीलेमात्र सहभागिता जनाउन पाउनेछन् । सहभागिताका लागि कराते महासंघले गर्ने विभिन्न सिरिज प्रतियोगितामा सहभागिता र नतिजाका आधारमा प्राप्त अंकका आधारमा शीर्ष ५० भित्र परेका खेलाडी सोझै छानिनेछन् । 

बाँकी १४ कोटाका लागि शीर्ष दुई सय ¥याङ्किङ्गभित्र परेका खेलाडीले मौका पाउनेछन् । उनीहरुमध्ये जसले पहिला दर्ता गरायो उसैले सहभागिताको मौका पाउने प्रशिक्षक श्रेष्ठले जानकारी गराए । सामान्यतया एक सय ५० वरियताभित्रका खेलाडीलेमात्र मौका पाउनेमा यसपाली कोभिड १९ महामारीका कारण सिरिज प्रतियोगिता नभएका कारण शीर्ष दुई सयभित्रका खेलाडीलाई अवसर दिइएको उनले बताए ।

अक्टोबर १ देखि ३ सम्म हुने प्रतियोगिताका लागि अनु आजै मस्को जानेछिन् । खर्च अभावका कारण अनुसँग उनका प्रशिक्षक वा व्यवस्थापकको साथ हुने छैन ।