बिआइबी कप अन्तरविद्यालय बास्केटबल

नेमोनिक र बुद्ध फाइनलमा

काठमाडौं । नेमोनिक र बुद्ध ऐकडेमी पाँचौं बिआइबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) को हलमा भएको प्रतिस्पर्धामा नेमोनिकले युरोलाई ६८-३७ ले हरायो । नेमोनिकको जितमा प्रवेश तामाङले ३८ स्कोर गरे । निरन लामाको १७ स्कोर सहयोगमा बुद्धले प्रिमियरललाई ५३-४२ ले हरायो ।

गर्ल्समा निस्ट र डाफोडिलले उपाधि भिडन्त पक्का गरे । निस्टले आयोजक बीआईएसमाथि ३०-२९ को कठिन जित दर्ता गर्यो । निस्टकी पुर्णिमा बरालले १६ अंक जोडिन् । डाफोडिलले द चाँदबाग स्कुललाई २७-२४ को साँघुरो अन्तरले पाखा लगायो । डाफोडिलकी दावा फुटी शेर्पाले १० स्कोर गरिन् ।