कल्पनाको राष्ट्रिय कीर्तिमान

टोकियो, (खेलाडी)– सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा प्रारम्भिक चरण नै पार गर्न नसके पनि उनको प्रदर्शन नयाँ राष्ट्रिय कीर्तिमानका लागि भने  पर्याप्त भयो । 

ओसाका सुटिङ रेन्जमा भएको खेलको छनोट चरणमा कल्पनाले ६१६.८ स्कोर गर्दा उनी फाइनल चरणमा स्थान बनाउन असफल भइन् । छनोट चरणबाट आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका थिए ।  अन्तिम चरणमा स्थान बनाउन नसके पनि ओलम्पिकमा कल्पनाको प्रदर्शन राष्ट्रिय कीर्तिमानका लागि पर्याप्त थियो । कल्पनाले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आपैmँले बनाएको ६१४.५ स्कोरको कीर्तिमान सुधार गरेकी हुन् । 

महिला १० मिटर एयर राइफलमा कुल ५० खेलाडीले प्रतिस्पर्धा गर्दा कल्पना ४६औं स्थानमा रहिन् र उनीभन्दा पछाडि बोस्निया एन्ड हर्जगोभिना, किर्गिस्तान, श्रीलंका र शरणार्थीको टोली रह्यो । 

पहिलो सिरिजमा १०२.२ स्कोर गरेकी कल्पनाले दोस्रोमा १०५.४ को सुधार गरेकी थिइन् । तेस्रोमा भने उनको प्रदर्शन खस्किँदा १०१ स्कोर गरिन् । चौथोमा १०४.१ को सुधारात्मक प्रदर्शन गरेकी कल्पनाले पाँचौंमा भने १०३.४ स्कोर गरिन् । अन्तिम सिरिजमा भने उनको प्रदर्शन कमजोर रह्यो र १००.७ स्कोर मात्र बटुलिन् । 

भारतले पदक आशा गरेकी इलाभेनिल भालरभियन ६२६.५ स्कोरसहित १६औं स्थानमै खुम्चिन पुगिन् । उक्त विधामा चीनकी याङ कियानले स्वर्ण जितिन् । त्यो स्वर्ण पदक जारी टोकियो ओलम्पिककै पहिलो स्वर्ण छिनोफानो थियो । रसियन ओलम्पिक टोलीकी एनास्टासिया गालासिना रजत पदकमा सीमित भइन् । स्विट्जरल्यान्डकी नाना क्रिस्टनले कांस्य पदक प्राप्त गरिन् ।