राष्ट्रपति रनिङ सिल्ड

राष्ट्रिपति रनिङ सिल्डः ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुने

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बैशाख ४ देखि ६ गतेसम्म हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुने भएको छ ।

राखेले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी गरायो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु समावेश छन्  ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

प्रतियोगितानमा एथलेटिक्समा छात्र/ छात्रातर्फ समान १३ कराते, तेक्वान्दो र उसुमा छात्र/छात्रार्फ समान ६ तथा भलिबल र कबड्डीको छात्र /छात्रमा समान एक गरी ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशबाट ६८६ खेलाडी सहभागी हुनेछन् । केन्द्रस्तरीय प्रतियोगिताका लागि स्थानिय तह, जिल्ला तथा प्रदेश छनोट प्रतियोगिता भएको थियो ।

प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

समग्रमा टिम च्याम्पियन बन्नेलाई नगदसहित रनिङ सिल्ड प्रदान गरिने छ । लुम्बिनी प्रदेशल लगातार तीन संस्करणको उपाधि जित्दै रनिङ सिल्ड आफ्नो बनाएकाले यसपल्ट नयाँ रनिङ सिल्ड पनि तयार पारिएको आयोजकले बताएको छ ।

समग्रमा उपविजेता र तेश्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई  १५ हजार  रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताका लागि नेपाल सरकारबाट १ करोड ५० हजार रुपैयाँ विनियोजन भएको राखेपले जानकारी दियो ।

सोही अवसरमा नयाँ रनिङ सिल्डको पनि अनावरण गरिएको थियो ।