पारा खेलकुदः उपलब्धि चुलिएको वर्ष

काठमाडौं । फरक क्षमताका खेलाडीले खेल्ने पारा खेलकुदका लागि वर्ष २०८० उपलब्धिको हिसाबले ऐतिहासिक बनेको छ । यसै वर्ष नेपाली पारा खेलाडीले एसियाली खेलकुदमा पहिलो पटक पदक र ओलम्पिकसम्मको यात्रा गरेका छन् ।

यी दुवै सफलतासँग जोडिएकी छन्, पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन । कात्तिकमा चीनको हाङचाउ एसियाली खेलकुदमा कांस्य पदक जितेकी पलेशा पेरिस ओलम्पिक २०२४ का लागि सोझै छनोट भएकी छन् । उनी एसियाली छनोट प्रतियोगिता जितेर पेरिस ओलम्पिकलाई पनि छानिएकी हुन् ।

पलेशाले छनोट प्रतियोगिता पार गरेर ओलम्पिक खेल्ने समग्रमै नेपालको तेस्रो खेलाडीको रूपमा आफूलाई उभ्याएकी छन् । यसअघि एसियाली छनोट चरण पार गरेर संगीना वैद्यले सन् २००४ को ग्रिस ओलम्पिक र दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए ।

चीनको ताइयाङमा चैत पहिलो सातामा सम्पन्न एसियाली छनोट प्रतियोगिताको फाइनलमा इरानी प्रतिद्वन्द्वी लिला मिर्जाइलाई हराएर उनले पेरिस पारालम्पिकको टिकट पक्का गरेकी थिइन् ।

के–४४ क्याटगोरीको महिला ५७ केजी तौल समूहकी पलेशाले मिर्जाइलाई ५–४ स्कोरले हराएकी थिइन् । त्यसअघि पलेशाले उज्वेकिस्तानकी करिमा मेलिकुजिइभाविरद्ध सफलता पाएकी थिइन् ।

टोकियो पारालम्पिक खेलिसकेकी पलेशाले त्यतिबेला भने वाइल्ड कार्डबाट सहभागिता जनाएकी हुन् । टोकियोमा उनले दुई खेल जितेर आफ्नो ओलम्पिक सम्भावनालाई उजागर गरिसकेकी थिइन् ।

यता, नेपालले पारा एसियाली खेलकुदमा पहिलो संस्करण (बेइजिङ २०१०) देखि नै सहभागिता जनाउँदै आएको हो । यसै वर्ष सम्पन्न चौथो संस्करणमा पलेशाले कांस्य दिलाएकी हुन् ।

पारा एसियाडमा नेपालले १० खेलमा १९ खेलाडीलाई सहभागी गराएको थियो । पहिलोपल्ट एसियाडमा नेपालले धेरै खेल र खेलाडी प्रतिस्पर्धी गराउँदा तेक्वान्दोले पदक जितेको हो । पारा तेक्वान्दो यसैपालि मात्र एसियाडमा समावेश गरिएको खेल थियो ।

पलेशाको पदक उपलब्धिबाहेक पावर लिफ्टिङमा पवन घर्तीमगरको राष्ट्रिय कीर्तिमान हाङचाउको अर्को उपलब्धि थियो ।

ओलम्पिकको एसियाली छनोटमा पलेशास‘गै पारा तेक्वान्दोका भरतसिंह महता र अमिर ब्लोनले पनि सहभागिता जनाएका थिए । ५८ केजीमुनि तौलमा भरतले इन्डोनेसियाका एम कुर्निभानलाई हराएर सेमिफाइनलमा स्थान बनाएका थिए । त्यहॉ उनले मंगोलियाका खेलाडीलाई पार लगाउन सकेनन् । अमिर पहिलो खेलमा चाइनिज ताइपेईका खेलाडीसँग हारेका थिए । पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामा पेरिस पारालम्पिकमा पलेशाबाट पदक आशा गर्न सकिने बताउँछन् ।

पलेशालाई लामो समयदेखि प्रशिक्षण गराइरहेका अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक लामा राम्रो तयारी पाए पलेशाबाट ओलम्पिक पदक जित्ने सम्भावना देख्छन् । भन्छन्, ‘पलेशाले टोकियोमा वाइल्ड कार्डबाट खेलेकी थिइन् । यसपालि एसियाली छनोट जितेर जाँदै छौं । राम्रो तयारी पाए पलेशाले पेरिसमा पदक जित्न सक्छिन् । उनीसँग त्यो क्षमता छ ।’ हाल पलेशा चीनको सांघाईमा उच्च शिक्षा अध्ययनरत छन् ।

फरक क्षमताका खेलाडीको लागि वर्ष २०८० मा महिला दृष्टिविहीन क्रिकेट खेलाडीले आफ्नै भूमिमा भारतसँग दुईपक्षीय टी–२० क्रिकेट शृंखला खेल्यो । वर्षको सुरुआतमै भएको क्रिकेट शृंखला नेपालले ३–१ ले जितेर दृष्टिविहीन क्रिकेटलाई उत्साहित बनाएको थियो । यस वर्ष ह्विलचेयर बास्केटबलका पनि छिटपुट प्रतियोगिताहरू आयोजना भए ।

वर्ष २०८० मा पारा खेलाडीका लागि अर्को एउटा सुखद सन्देश भनेको पारा राष्ट्रिय खेलकुद आयोजनाको प्रस्ताव अगाडि बढ्नु हो । ओलम्पिक, एसियाडजस्ता ठूला अन्तर्राष्ट्रिय खेलकुदमा जस्तै पारा खेलाडीका लागि जसरी छुट्टै प्रतियोगिता हुन्छ, त्यस्तै बृहत राष्ट्रिय खेलकुदमा पनि राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषदले खेलकुद मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भए अर्को वर्ष कर्णालीमा हुने दसौं राष्ट्रिय खेलकुददेखि नै पारा राष्ट्रिय खेलकुद हुनेछ ।

नेपाल खेलकुद पत्रकार मञ्च, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघजस्ता खेल संस्था आयोजना गर्ने स्पोर्ट्स अवार्ड कार्यक्रममा विगतदेखि नै पारा खेलाडीलाई समेट्दै आएको छ । देशको आधिकारिक खेलकुद निकाय राष्ट्रिय खेलकुद परिषदले पनि आफ्नो वार्षिकोत्सवमा प्रदान गर्ने अवार्ड कार्यक्रममा पारा खेलाडीलाई यस वर्षदेखि विधा छुट्याएर सम्मान गर्ने परम्पराको थालनी गरेको छ । विगतमा पारा खेलाडीलाई सम्मान गरे पनि समग्रमा मात्र गरेको थियो । यो पारा खेलाडीका लागि खुसीको कुरा हो ।