राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल

राष्ट्रिय टिम बुद्धिचाल च्याम्पियनसिपः दोलखा र भक्तपुर फाइनलमा

ललितपुर । नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजना जारी छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधिका लागि दोलखा चेस होम नेपाल र भक्तपुर जिल्ला बुद्धिचाल संघ भिड्ने भएका छन् ।

शुक्रबार सम्पन्न नकआउट चरणको पहिलो खेलमा दोलखाले मकवानपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । फाइनलमा पुग्ने क्रममा दोलखाले मकवानपुरमाथि २.५ र १.५ को जित हासिल गर्यो । जसमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल र कृष्ण थापाबीचको खेल बराबरीमा सकिएको थियो । त्यस्तै सुश्रुत दहाल सिन्देश्वर दाशसँग हारे भने मुहान नर्सिङ श्रेष्ठले सुदेन टुईटुईमाथि र सुजना लोहनीले अनुस्ना गौतममाथि जित हासिल गर्दै टोलीलाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान दिए ।

त्यसैगरी नकआउट चरणको दोश्रो खेलमा भक्तपुरले कोशी प्रदेश बुद्धिचाल संघलाई पराजित गर्यो । सेमिफाइनल अन्तर्गत क्लासिकल चरण बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा गएको थियो । भक्तपुरले कोशीलाई ट्राइबेकरको चार वटै खेलमा पराजित गर्न सफल भयो ।

क्लासिकल चरणमा भक्तपुरका युवा खेलाडी पुरुतोत्तम सिलवाल र कोशीका प्रकाशचन्द्र नेपाल तथा भक्तपुरका स्वर्णिम दुवाल र कोशीका मिसन दहालबीचको खेल बराबरीमा सकियो ।भक्तपुरका राजेश कक्षपती कोशीका सविनचन्द्र घिमिरेसँग पराजित हुन पुगे भने अभिक शाहले कोशीका कृतिशारा अधिकारीमाथि जित निकाल्दै स्ट्यान्डर चरणमा बराबरी गर्दै खेललाई ट्राइबेकरमा पुर्याएका थिए । 

ट्राइबेकरमा भक्तपुरका पुरुसोत्तम सिलवाल, विक्रम चोकामी, स्वर्णिम दुवाल र अभिक शाहले क्रमशः कोशीका प्रकाश चन्द्र नेपाल, सविन चन्द्र घिमिरे, मिसन दहाल र कृतिशारा अधिकारीमाथि जित निकाल्दै टिमलाई ४-० को जित दिलाउदै फाइनलमा पुर्याए ।

ललितपुरस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानमा जारी प्रतियोगिताको फाइनल खेल शनिबार बिहान ९ बजे शुरु हुनेछ । राष्ट्रिय स्तरका उत्कृट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगितामा विजेताले  २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्नेले ६० हजार र चौथो हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने चारखेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।