एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस

विशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं। विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण पदक जितेका छन् ।

एसियन शारीरिक सुगठन तथा फिटनेस महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघको ब्यवस्थापनमा भएको च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथीको तौलमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण जिते ।  थाइल्याण्डका बालान्कन पठानसिरावत तेश्रो स्थानमा रहे ।

याक एण्ड यती होटलमा भएको च्याम्पियनसिपको महिला स्विम सुट फिजिक खुल्ला विधातर्फ सनमले स्वर्ण जितिन् । उनले हङकङकी मा सिन यीलाई पछि पारिन् । दक्षिण कोरियाकी किम सोयुन तेश्रो स्थानमा रहिन् ।

पुरुष ५५ केजीमा नेपालका सुरेश दुवालले रजत जिते र  उनी भियतनामका बुइ दाक फि भुँग पछाडी परेका थिए । मलेसियाका अज्री विन अस्मत सेफ्रिले कांस्य प्राप्त गरे

यस्तै नेपालले ६० केजी तौलमा नेपालल दुई पदक जित्यो । अश्मिनबाबु गरुङ्गेले रजत र कमल भण्डारीले काँस्य दिलाए । यस विधामा थाइल्यान्डका जिराफन पोङ्गकामले स्वर्ण जिते ।

च्याम्पियनसिपको पहिलो दिन पुरुष जुनिय शारीरिक सुगठन ७५ केजी सम्म र ७५ केजी माथी, पुरुष ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, महिला जुनियर फिटनेस फिजिक २१ वर्ष मुनी, महिला फिटनेस फिजिक १ सय ६५ सेमी सम्म, १ सय ६५ सेमी माथी, महिला टिनेज एथलेट फिजिक १५–१८ वर्ष, महिला स्विम सुट खुल्ला, महिला जुनियर मोडल फिजिक २१ वर्ष मुनि, पुरुष मास्टर्स शारीरिक सुगठन ४० देखि ४९ वर्ष, ५० देखि ६० वर्ष र ६० वर्ष माथी गरि १५ विधामा प्रतिस्पर्धा भएको थियो ।

च्याम्पियनसिपमा १७ राष्ट्रका १ सय ६८ पुरुष र ६८ महिला गरि २ सय ३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

शारीरिक सुगठनको प्रतियोगितामा पहिलो पटक ठुलो प्रतियोगिताको रुपमा रहेको च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङकङ , भारत, काजाखस्तान, मकाउ, माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाईल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता  छ ।
च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स एक गरि ४५ विधामा प्रतिस्पर्धा हुनेछ ।

सो अवसरमा शारीरिक सुगठन खेलको विकासमा योगदान गरेवापत विभिन्न ब्यक्तिहरुलाई  स्वर्ण, रजत र कांस्य पदकले सम्मान गरिएको थियो ।

जसमा ज्ञानेन्द्र नकर्मी, अजय बज्राचार्य, रुजेश शाही, ननिता बज्राचार्य, निर्मला महर्जन, राजेश उपाध्याय, महेश्वर महर्जन र राजन श्रेष्ठले स्वर्ण पदक प्राप्त गरेका थिए । यसतै राजेश बहादुर श्रेष्ठ, इश्वर श्रेष्ठ, शंकरमान उदाश, बाबुकाजी मानन्धर, प्रतापकाजी बरिया, दिनेश श्रेष्ठर अनिललाल श्रेष्ठले रजत तथा सुरेश सुवेदी, रेणुका श्रेष्ठ, विनिता राई, सूर्य प्रसाद जोशी र विजयत्तम रत्न बज्राचार्यले कांस्य पदक प्राप्त गरेका थिए ।