आइएसएफ यु-१५ जिम्न्साइड

जिम्न्साइडमा तीन नेपाली निर्णायक

जिम्न्साइड अन्तर्गत बक्सिङमा निर्णायको भूमिका निर्वाह गर्दै धनकुमार मैनाली

काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सञ्चालन जारी आइएसएफ यु-१५ जिम्न्साइडमा बक्सिङका धनकुमार मैनाली तथा तेक्वान्दोका रोशनबोहोरा र राकेश कुमार राईले निर्णायकको भूमिका निर्वाह गरेका छन् ।

रियो दि जेनेरियोको ओलम्पिक पार्कमा भइरहेको प्रतियोगितामा ४४ देशका खेलाडीहरुले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन्।

धनकुमार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा) को मान्यता प्राप्त नेपालका एकमात्रसेकेन्ड स्टार अन्तर्राष्ट्रिय निर्णायक हुन्।

यसअघि उनले थाइल्यान्डको फुकेतमा सम्पन्न फुकेत अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप तथा थाइल्यान्डमै सम्पन्न एएसबीसी यु-२२ बक्सिङ च्याम्पियनसिपमा निर्णायक बनेका थिए।

त्यसैगरी धनकुमार  उज्वेकिस्तानको तासकन्दमा भएको रेफ्री जज सेमीनारमा पनि सहभागि भएका थिए ।

ब्राजिलको अनुभवले आफूलाई थ्री स्टार निर्णायक बन्न महत्वपूर्ण भूमिका खेल्ने र अन्य अवसरहरु पनि प्राप्त गर्न सक्ने धनकुमार बताउँछन् ।

उनले भने,‘आसन्न एसियाली खेलकुदमा सिफारिस हुन सके मैले एसियाली खेलकुदमा निर्णायक बन्ने अवसर छ। ब्राजिलको यो अनुभवले मलाई थप अनुभवी बनाउन मदत पुगेको छ ।’

त्यसैगरी रोशन र राकेशले तीन दिनसम्म सञ्चालन भएको तेक्वान्दोमा निर्णायक बनेका थिए ।