खेलाडी सम्मान कार्यक्रम

नेपाल प्रहरीका खेलाडी तथा अफिसियल सम्मानित

काठमाडौं । नेपाल प्रहरीले विभिन्न प्रतियोगितामा पदक जितेका आफ्ना खेलाडी तथा अफिसियललाई सम्मान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजस्थित जिम हलमा सोमबार विभिन्न खेलकुद प्रतियोगिताहरुमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीका खेलाडी तथा अफिसियलहरुलाई प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा 'खेलाडी सम्मान कार्यक्रम' मार्फत सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा फुटबल, भलिबल, एथलेटिक्स, ब्याडमिन्टन लगायतका खेलकुद प्रतियोगितामा नेपाल प्रहरीकोतर्फबाट सहभागी भइ विभिन्न पदक प्राप्त गरेका ७७ जना खेलाडी तथा अफिसियललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सहसचिव प्रहरी नायव महानिरीक्षक रविन्द्र केसी, सहनिर्देशहरु, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य, प्रतिष्ठानका उपउपनिर्देशकहरु ,सिप्रअ, जुप्रअ कार्यक्रममालगायतको उपस्थिति थियो ।