चेस

नवौं राष्ट्रिय खेलकुद: बागमतीको बुद्धिचाल छनोट भदौ २२ देखि

काठमाडौं । आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको बुद्धिचाल खेलाडी छनोट भदौ २२ गतेदेखि २४ गतेसम्म हुने भएको छ ।

 गण्डकी प्रदेशमा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने नवौंका लागि तीन दिन धुलिखेलस्थित सनराइज रिसोर्टमा छनोट हुने बागमती प्रदेश बुद्धिचाल संघका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

तेस्रो पटक मिति सारिएको नवौं राष्ट्रिय खेलकुदका लागि अहिले प्रदेशहरु धमाधम खेलाडी छनोट तथा तयारीमा लागेका छन् । ०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुदको आठौं संस्करण ०७५ सालमा नेपालगञ्जमा भएको थियो । प्रत्येक दुई वर्षमा हुने भनिए पनि त्यसयता कोभिड १९ को महामारीका कारण हुन सकेको छैन ।

मुलुक संघीयतामा गएसँगै पहिलो पटक राष्ट्रिय खेलकुदमा प्रदेशले प्रतिनिधित्व गर्नेछन् । यसअघि तत्कालीन पाँच विकास क्षेत्र सहभागी हुँदै आएका थिए ।